काठमाडौं, १६ भदाै । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भृकृटीमण्डपमा नाडा अटो सो सुरु भएको छ । ‘नाडा अटो सो’ नेपालको सबैभन्दा ठूलो सवारी मेला हो । यो अटो सो ११ औं शृंखला हो ।
आयोजकका अनुसार विश्वका विभिन्न मुलुकमा उत्पादन भएका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । मेलामा दुई पांग्रेदेखि चारपांग्रेसम्मका सवारी साधन छन् । मेलामा ७४ वटा कम्पनीले सहभागिता जनाएका छन् । १ सय २५ वटा स्टल रहेको प्रदर्शनी हालसम्मकै ठूलो हो । प्रदर्शनीमा १३ ब्रान्डका दुईपाङग्रे र १६ ब्रान्डका चारपाङग्रे सवारी साधनहरू छन् । ५ वटा ब्रान्डका हेभी कमर्सियल सवारी रहेको जनाएको छ । यस्तै, ३८ स्टल स्पेयरपार्ट राखिएको छ । ती स्टलमा सवारी सुरक्षा, स्पेयर पाट्र्स, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, ब्याट्री, एस्सेसरिज लगायतका उत्पादनहरू छन् । जसमा नेपालमै उत्पादन भएका सामग्री पनि छन् ।
प्रदर्शनीमा अवलोकनकर्तालाई सजिलो पार्न दुईपाङग्रे, चारपाङग्रे र कमर्सियल गाडीका लागि छुट्टाछुट्टै प्याभेलियनको व्यवस्था गरिएको छ । यस पटकको मेलामा धेरै कम्पनीले नयाँ मोडलका सवारी साधनका साथै विभिन्न ग्राहक योजना पनि सार्वजनिक गरेका छन् । सर्वसाधरणलाई दसैंमा सुविधा र आफ्नो ग्राहक वृद्धि गर्न योजना सार्वजनिक गरेको आयोजकको दाबी छ ।
प्रदर्शनीमा दात्सुन, फिएट, फोर्ड, होन्डा, हुन्डाई, किया, महिन्द्रा, एमजी, निसान, रेनो, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, स्याङ्योगलगायतका चारपाङ्ग्रे सवारी छन् । बजाज, बेला, बेनाली, हिरो, होन्डा, केटीएम, महिन्द्रा, रोयल इन्फिल्ड, रनर, स्कोमाडी, सुजुकी, टीभीएस, यूएम, वेस्पा, यामाहा लगायतका दुईपांग्रे सवारी छन् ।
कमर्सियल सवारीमा भने अशोक लेल्यान्ड, आयसर, इक्कोट्र्स, महिन्द्रा, टाटा लगायतका सवारी छन् । प्रदर्शनीमा बैंक, बिमादेखि रेस्टुरेन्ट सम्मका स्टल छन् । सवारी साधनको बुकिङ र किस्ताबन्दीको सुविधा समेत दिइएको छ । त्यस्तै बिमा कम्पनीले पनि बिमा सुविधा दिएको जनाएको छ ।
प्रदर्शनीबाट २ अर्बको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनी १९ गतेसम्म चल्ने छ ।
तस्वीर:बुद्धवीर बाहिङ