बिम अब पूर्ण सरसफाइ र धुवाँमुक्त गाविस

7 Shares

बाबियाचौर (म्याग्दी), १३ माघ । म्याग्दीको बिमलाई बुधबार एकैसाथ पूर्ण सरसफाइयुक्त र घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको छ ।

जिल्ला विकास समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा गाउँस्तरीय सरसफाइ, खानेपानी तथा स्वच्छता समन्वय समिति (भिवाससिसी)ले आयोजना गरेको कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

बिममा रहेका चार सय १६ घरधुरीमा खानेपानीको पहुँच पुगेको तथा सरसफाइका आधारभूत सूचक पूरा भएको र सबै घरमा सुधारिएको चुल्हो निर्माण भएकाले पूर्ण सरसफाइ र घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको गाविस सचिव मिलन थापाले बताउनुभयो ।

घोषणा कार्यक्रममा सहभागी बिमका बासिन्दाले आगोलाई साक्षी राखेर पक्की शौचालयको नियमित प्रयोग गर्ने, साबुनपानीले हात धुने, व्यक्तिगत, घरायसी र सामुदायिक सरसफाइ कायम राख्ने लगायतका प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि स्थानीय विकास अधिकारी प्रेमराज गिरीले दूषित पानी र फोहरका कारण लाग्ने रोगको रोकथाम गर्न सरसफाइ अभियानलाई प्राथमिकता दिएको बताए । सोही कार्यक्रममा जिविसले बिममा सरसफाइ प्रर्वद्धन र खानेपानीको पहुँच विस्तारका लागि रु ७० हजार प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

यसअघि म्याग्दीको दाना, राम्चे, झी, बेग, हिस्तान गाविस तथा दग्नामको तीन, निस्कोट र घारको एक–एकवटा वडालाई पूर्ण सरसफाइयुक्त घोषणा गरिएको थियो ।

यसैगरी, झीँ, अर्मन, दग्नाम, हिस्तान, बेग र लुलाङ गाविसलाई घरभित्रको धुवाँमुक्त क्षेत्र घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार