२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

भू–संरक्षण प्रविधि तालिम


१६ माघ २०७३, आइतबार  

0
Shares

बेनी (म्याग्दी), १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ ।

‘माटो पानी जोगाऔँ, हरियाली बढाऔँ’ भन्ने मूल नारासहित जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीको आयोजनामा भूस्खलन हुने क्षेत्रमा कम खर्चिलो प्रविधि अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

वेगखोला गाविसको १ देखि ८ र दोवाको १ देखि ६ वडाका वडा समन्वय समिति तथा पावर महिला समूहका पदाधिकारीलाई तालिम दिइएको थियो । सघन सामुदायिक विकास तथा वन जलाधार संरक्षण आयोजना लागू भएका गाविसका ३० जना उपभोक्ता र पाखापानी, बेगखोलाका तीन महिला उत्प्रेरकसहित ३३ जनालाई तालिम प्रदान गरिएको जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीले जनाएको छ ।

तालिमको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेल र सहायक भू–संरक्षण अधिकृत शम्भुकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीलाई कम खर्चिलो भू–संरक्षण प्रविधिको प्रयोग गरी स्थानीय रुपमा पाइने सामग्री बाँस, अम्लिसोलगायतको सहायताले पहिरो रोकथाम, गल्छीको उपचारलगायतका बारेमा सिकाइएको थियो ।

तीन दिनसम्म चलेको तालिममा सैद्धान्तिक ज्ञान दिनुका साथै बेनपा–५ को थाकन भालुखोला सामुदायिक वनको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्रयोगात्मक अभ्याससमेत गरिएको थियो ।

महासङ्घको नौ बुँदे बेनी घोषणापत्र जारी

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको शनिबार बेनीमा सम्पन्न प्रथम क्षेत्रीय भेला नौ बुँदे बेनी घोषणापत्र जारी गर्दै सकिएको छ । ‘व्यावसायिक संरक्षण साङ्गठनिक सशक्तीकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजित भेलाले पुस्तक व्यवसायसँग सम्बन्धित घोषणापत्र जारी गरेको हो ।

भेलाले राज्यले निर्धारण गरेका मापदण्डका आधारमा पुस्तक तथा स्टेसनरी सामान अङ्कित मूल्यमा बिक्री वितरण गर्ने गराउने, व्यावसायिक फर्म दर्ता भएका व्यवसायीबाट कारोबार गर्ने गराउने, निजी विद्यालयका पाठ्यपुस्तक शैक्षिक संस्थाको हाताभित्र बिक्री वितरणमा प्रतिबन्ध लगाउने र प्रकाशन गृह वा उत्पादकका उत्पादित सामान व्यवसायीमार्फत गर्ने गराउनेलगायतका माग घोषणापत्रमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७३, आइतबार  ६ : ५३ बजे