उपचारमा सहयोग गर्न मिर्गौला रोगी महिलाको याचना

0 Shares

म्याग्दी, २४ माघ । दुवै मिर्गौलामा समस्या देखिएपछि आर्थिक अभावका कारण उपचार गराउन नसकेकी म्याग्दीकी एक महिला गरिबीका कारण मृत्युलाई कुर्नुपर्ने बाध्यतामा पुग्नुभएको छ ।

म्याग्दी बाबियाचौर–३ की ५० वर्षीया टीकाकुमारी शर्माले उपचार गराउने पैसा नभएपछि मृत्यु कुर्नुबाहेक अर्को विकल्प नभएको बताउनुभएको हो । शर्माले सहृदयी व्यक्तिसँग उपचारका लागि सहयोगको याचना गर्नुभएको छ ।

एक वर्षअगाडि दुवै मिर्गौलामा खराबी देखिएपछि घरको सम्पत्ति र ऋण खोजेर उपचार गराइरहेकी शर्माको थप उपचारमा आर्थिक अभाव भएपछि सहयोग गरी जीवन बचाइदिन अनुरोध गर्नुभएको हो । “घरमा भएको पैसा सकियो, उपचारमै दुई लाखभन्दा धेरै ऋण लागेको छ”, टीकाकुमारीका श्रीमान् योगनाथ शर्माले भन्नुभयो ।

शर्माका ६ छोरी र एकजना छोरा रहेका छन् । दुई छोरी र एक छोराको शिक्षा–दीक्षाका साथै घरायसी खर्चसमेत जुटाउनुपर्ने अवस्थामा श्रीमती बिरामी भएपछि चिन्तित बनेका शर्माले आर्थिक अभावकै कारण गरिब परिवारले मृत्यु रोज्नुपर्ने बाध्यतालाई आफ्नो परिवारले समेत सामना गरिरहेको बताउनुभयो । गाउँकै आर्थिक रुपमा कमजोर परिवारमा पर्ने शर्माले श्रीमतीलाई उपचार गर्न घरमा भएको सबै सम्पत्ति बेच्दासमेत एक छेउ नहुने भएपछि सहयोगका लागि याचना गर्नुभएको छ ।

जिल्ला अस्पताल म्याग्दी हुँदै काठमाडाँैको ओम अस्पतालसम्म उपचारमा पुगेका शर्माले श्रीमतीको तीनपटकसम्म डायलोसिस गरे पनि थप उपचारका लागि रकम अभाव भएको गुनासो गर्नुभयो । सरकारले निःशुल्क भनेका सेवासुविधा लिनसमेत सकस भइरहेको पीडित परिवारको गुनासो छ ।

यसैबीच शर्माको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार