५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन्छ – परराष्ट्रमन्त्री महत



काठमाडौँ, २८ माघ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले छिमेकीसँगको सम्बन्ध सत्ता र दलगत राजनीति परिपूरण गर्ने हतियारको रुपमा प्रयोग गर्ने सोचले राष्ट्रियतालाई बलियो बनाउन नसक्ने बताउनुभएको छ ।

नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड एण्ड स्टाफ कलेजद्वारा आज यहाँ आयोजित “रक्षा र कूटनीतिबाट राष्ट्रिय सुरक्षाको सुदृढीकरण” विषयक गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

“धेरै लामो समयदेखि नेपालमा छिमेकीसँगको सम्बन्ध सत्ता र पार्टीगत राजनीतिक परिपूरण गर्ने हतियारका रुपमा हामीले प्रयोग गरिरहेका छौँ, सडकमा प्रयोग भइरहेका यस्ता कुराले राष्ट्रियतालाई बलियो बनाएको छैन बरु शङ्का उत्पन्न गरेको छ” – उहाँले भन्नुभयो

मन्त्री महतले भन्नुभयो – “कूटनीतिलाई अत्यन्त बुद्धिमतापूर्वक प्रयोग गर्न सकियो भने सुरक्षाको सुदृढीकरण र कूटनीतिलाई परिपक्व बनाउन सक्दछाँै, कूटनीतिक माध्यमबाटै राष्ट्रिय आवश्यकता र सुरक्षा सुरक्षित हुन सक्दछ ।”

कूटनीतिक माध्यमबाट आफ्नो स्वार्थ, हित र अधिकारलाई जोडदार ढङ्गबाट राखेर राष्ट्रिय सुरक्षा सुदृढ र सुनिश्चित भई लक्ष्य पूरा गर्न सकिने बताउँदै उहाँले भन्नुभयो – “यो बाटोबाट नै जाँदा बुँदागत, तथ्यगत, तथ्याङ्क र तर्कसङ्गत रुपमा हामी छिमेकीलाई मनाउन सक्दछौँ ।

मन्त्री महतले नेपालले भारत र चीनको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने प्रयास गरिरहेको बताउँदै “नेपालको भारतसँगको सम्बन्ध चीनसँगको सट्टा होइन, चीनसँगको सम्बन्ध भारतसँगको सट्टा होइन, दुवैसँगको सम्बन्ध विश्वासमा आधारित सम्बन्ध साथसाथै लैजान जरुरी छ, तुलना गर्न आवश्यक छैन भन्नुभयो ।”

चीन र भारतसँगको सम्बन्धका आ–आफ्नै विशेषता छन, दुवै मुलुकसँग राम्रो सम्बन्ध राख्नुपर्दछ भन्दै उहाँले दुवै देशसँग सम्बन्ध सुदृढ गरेर लैजाने नेपालको प्रयासको सकारात्मक परिणाम आइरहेको उल्लेख गर्नुभयो ।

मन्त्री महतले नेपालको भौगोलिक र जातीय विविधताबीचको एकताले पनि राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षामा ठूलो योगदान दिइरहेको बताउँदै हामीले कूटनीतिलाई देशको सुरक्षा, राष्ट्रिय स्वार्थ र प्रवद्र्धनको आधार बनाउनुपर्दछ भन्नुभयो ।

नेपाललाई समृद्ध र नेपालीलाई स्वाभिमानी बनाउन सुरक्षा र कूटनीतिलाई परिपूर्ण बनाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले देशको स्वतन्त्रता र स्वाधीनतालाई बलियो बनाउन रक्षा र सुरक्षाबीच तादम्यता मिलाएर काम अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताका लागि कूटनीति र सुरक्षा नै मुख्य खम्बा हुन् भन्नुभयो ।

कलेजका निर्देशक देवेन्द्रबहादुर मेधासीले सैनिक कौशलसँग सम्बन्धित विषयमा स्नातकोत्तर तहसम्मको पढाइ हुने कलेजमा हाल विदेशी सातसहित ५४ जना अध्ययनरत भएको जानकारी दिनुभयो ।

गोष्ठीमा रक्षा, परराष्ट्र, गृहमन्त्रालयका उच्च अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका बहालवाला तथा भूतपूर्व उच्चपदस्थ अधिकृतको सहभागिता छ ।

नेपालको कूटनीति क्षेत्रमा ख्याति कमाउनुभएका पूर्व परराष्ट्र सचिव र पूर्वराजदूतले प्रतिरक्षा र कूटनीतिक विषयमा दिनुहुने सुझावले मुलुकलाई त्यस क्षेत्रको विकास र विस्तारमा योगदान पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ माघ २०७३, शुक्रबार  ११ : ३६ बजे