तेह्रथुम, १ फागुन । तेह्रथुमको फाक्चामारा गाविसको दक्षिणी दुर्गम गाउँ हक्पाराकी ‘लीलामाया लिम्बूको परिवारलाई दुईवर्ष अघिसम्म बिहान÷बेलुका हातमुख जोर्नै धौ धौ हुन्थ्यो । अभावै– अभावले ग्रस्त थियो, लीलामायाको जीवन।’ तमोर नदीसँग जोडिएको सुख्खाग्रस्त यो बस्तीमा त्यसै पनि पिउने पानीकै सकस । ‘न गाउँमा कुनै सेवासुविधा, न बिजुली बत्ती नै ।
तर सुन्दै उदेकलाग्दो जीवन जिइरहनुभएकी लीलामायाको जीवन अहिले परिवर्तन भएको छ । गाउँमा गठन भएको शीतलपाटी सामुदायिक संस्थामा आवद्ध भएर आयआर्जनमा लागेपछि लीलामायाको जीवनको लिला फेरिएको हो । “गाउँमा पढे–जानेका कोही थिएनन्,के गर्दा के हुन्छ ? थाहै हुन्थेन, लीलामायाले भन्नुभयो”–‘जब संस्थाले समूह मार्फत हामीलाई आयआर्जन गर्न प्रेरित गरियो र लगानीका लागि रकम पनि दियो, त्यसपछि मात्र हाम्रा आँखा खुले ।’
जिल्लाको दलित सचेतना समाज नेपाल नामक गैरसरकारी संस्थाले गरिबी निवारण कोषको सहयोगमा विपन्न यो बस्तीमा आयआर्जनका लागि व्यवसाय गर्न उत्प्रेरित गरेको हो । कोषले संस्थालाई घुम्ती कोषको रुपमा लगानी गर्न दिएको रु दुई लाख ७० हजारमध्ये लीलामायाले पनि रु २० हजार ऋण लिनुभएको थियो । संस्थाबाट लिएको रकममा आफूले खाइनखाई जम्मा गरेको १० हजार थपेर ६ वटा माउ बाख्रा खरिद गरेर व्यवसाय थाल्नुभएकी लीलामायाका अहिले आँगनभरी बख्रापाठा छन् ।
बाख्रा पालनलाई व्यावसायिक बनाउनुभएकी उहाँ भन्नुहुन्छ यसबाटै परिवारको बिहान बेलुकाको दुई गाँस, लत्ताकपडा र चाडपर्व मनाउन सहज हुँदै आएको छ ।
‘गरिखाने ढङ्ग थिएन हातपाउ सद्दे भए पनि केही गर्न सकेका थिएनौँ, विगत सम्झिदै लीलामायाले बताउनुभयो–’ तर “जब आयआर्जनका लागि बाख्रापालन गर्ने प्रेरणा पाएँ, त्यसपछि मेरो जीवनको ढोका खुल्यो ।” सुख्खा क्षेत्रमा अन्य व्यवसाय भन्दा बाखा्रपालन उपयुक्त हुने भएपछि आफूले बाख्रापालन व्यवसाय रोजेर थालेको उहाँ बताउनुहुन्छ ।
लीलामाया जस्तै यहाँका दर्जन बढी विपन्न परिवारको दैनिकी अहिले बदलिएको छ । सुख्खा क्षेत्र भएकाले बाख्रापालन, बङ्गुरपालन, गाईपालनलगायत पेसा गरेर यहाँका विपन्न परिवारले मनग्ये आम्दानी लिँदै परिवार धान्नसक्ने भएका छन् । सिँचाइ सुविधा नहुँदा खेतीबाली लगाउन नपाउने उनीहरु अहिले पेसा व्यवसाय गर्न थालेपछि दैनिकी बदलिएको स्वीकार गर्छन् ।
गरिबी निवारण कार्यक्रमले आफूहरुको दैनिकी बदलिदिएको उनीहरुको भनाइ छ ।