बाबियाचौर (म्याग्दी¬), २ फागुन । म्याद नाघेका पोका दूध र दही बिक्री गर्ने बेनीको एक डेरी पसलमा अनुगमन टोलीले सिलबन्दी गरेको छ ।
पोखरामा रहेको पन्थी डेरी उद्योगको बेनी अस्पताल चोकस्थित बिक्री केन्द्रमा आपूर्ति मन्त्रालय र स्थानीय सरोकारवाला सहभागी बजार अनुगमन टोलीले आइतबार सिलबन्दी गरेको हो ।
म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि राखेको डेरीमा रहेका कतिपय पोकामा उत्पादन मितिसमेत छैन । सामान बरामद गरी सिलबन्दी गरेको मन्त्रालयका शाखा अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो ।
“प्लास्टिकमा प्याक गरिने दूध दहीको उपभोग्य समय ४८ देखि ७२ घन्टा हुन्छ” बाँस्कोटाले भन्नुभयो “२०७३ माघ २२ गते प्याकेजिङ गरिएको दूध, दहीको पोका अझै बिक्रीका लागि राखेको पाइयो ।”
अनुगमन टोलीले सो पसलबाट एक हजार लिटरभन्दा बढी पोका दूध, दही बरामद गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने किसिमले सामान बिक्रीका लागि राखेकाले सिलबन्दी गरी कारबाही प्रक्रिया अघि बढाइएको सहायक प्रजिअ शोभाखर पोख्रेलले जानकारी दिनुभयो ।
भूकम्पले भत्काएको विद्यालय भवन पुनःनिर्माण
भूकम्पले भत्काएको म्याग्दीको बाबियाचौर–६ सल्यानमा रहेको विकास आधारभूत विद्यालयको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ ।
सरकारी निकाय र समुदायको रु २५ लाख दश हजार ५०० को लगानीमा दुई कोठे पक्की भवन निर्माण भएको हो । कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा भूकम्पले भवन भत्काएपछि टहरामा कक्षा सञ्चालन गरिएको थियो ।
सय जना विद्यार्थी अध्ययनरत विद्यालयमा भवन पुनःनिर्माण भएपछि पठनपाठन सहज भएको व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र खत्रीले बताउनुभयो ।
भवन संरक्षणका लागि भूसंरक्षण कार्यालयले ग्याबिन सहयोग गरेको थियो । स्थानीय बेदबहादुर, माया, धु्रव र बिना जिसीले उपलब्ध गराउनुभएको एक रोपनी जग्गामा भवन निर्माण गर्न दिलबहादुर कटुवाल क्षेत्रीले दिवङ्गत अभिभावक दलबहादुर कटुवालको स्मृतिमा सबैभन्दा बढी रु एक लाख ५५ हजार सहयोग गर्नुभएको थियो ।