भक्तपुर, ३ फागुन । देशभरका नगरपालिका तथा जिविसका कर्मचारीले स्थानीय निकायको काम ठप्प पारे पनि भक्तपुर नगरपालिकाका कर्मचारीले भने निर्धक्क काम गरेका छन् ।
देशभरका स्थानीय निकाय कर्मचारीको आन्दोलनलाई चासो नदिई भक्तपुर नगरपालिकाका कर्मचारीले सेवाग्राहीको काम सञ्चालन गरेको हो ।
भक्तपुर जिल्लाका ६ वटा नगरपालिकामध्ये पाँचवटा नगरपालिकामा कर्मचारीले आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै कार्यालय बन्द गरी काम ठप्प पारेका छन् ।
भक्तपुर नगरपालिका कर्मचारी एसोसिएसनका सदस्य रामकृष्ण प्रजापतिले भक्तपुर नगरपालिकाका कर्मचारी आन्दोलनको कार्यक्रममा सरिक नभई जनताको काममा निरन्तर लागेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका कर्मचारी एसोसिएसनसँग आन्दोलनका आयोजकले आन्दोलनका बारेमा कुनै छलफल र जानकारी नदिएकाले आन्दोलन नगरेको कर्मचारीको भनाइ छ । जिल्लाको मध्यपुर थिमि, अनन्तलिङ्गेश्वर, सूर्यविनायक, नगरकोट र चाँगुनारायण नगरपालिका कर्मचारीले देशभर सुरु भएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नगरपालिकामा काम ठप्प पारेपछि काम लिएर आएका सेवाग्राही फर्किएका छन् ।