चितवन, ४ फागुन । सुगम जिल्ला भएकाले यहाँका अधिकांशको चिन्ता बासको भन्दा गाँसको हुन्छ । तर भूकम्पका कारण गत वर्ष बास पनि गुमाएका पहाडी क्षेत्रका जनता भने गाँस र बास दुवैको चिन्तामा दोस्रो जाडो पनि काट्दै छन् ।
जिल्लाका पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ । भूकम्पको सबैभन्दा बढी प्रभाव पहाडमा नै परेको थियो ।
हालसम्मको तथ्याङ्क अनुसार जिल्लामा १८ हजार ५७२ घरधुरीले प्रभावित भएको भन्दै आवेदन दिएकामा पुनः सर्वेक्षण कार्य बल्ल सुरु भएको छ । पहाडी क्षेत्रका नौ हजार घरधुरीमध्ये चेपाङका मात्र तीन हजार ५०० रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लुइँटेलले बताउनुभयो । जिल्लामा कुल चेपाङको सङ्ख्या २८ हजार ३६३ जना छन् ।
चेपाङ सङ्घ चितवनका अध्यक्ष लक्ष्मण चेपाङका अनुसार १० प्रतिशत मात्र चेपाङलाई वर्षभर आफ्नै बारीको उत्पादनले खान पुग्छ । अन्यले निमेक गरेर र साग सिस्नो गिठ्ठा भ्याकुरमा जीविकोपार्जन गर्नुपर्छ । एकातिर अन्न छैन अर्कोतर्फ बास छैन । यही पीडामा जिल्लाका चेपाङ समुदाय जाडो काटिरहेका छन् ।
दारेचोक गाविस–९ धुसाहाकी दमन कुमारी चेपाङ आफ्ना बच्चाबच्चीसहित टिनको खुल्ला छाप्रोमा बास बस्दै आउनुभएको छ । दोस्रो वर्षको जाडोलाई पनि चिर्दै आएको यो परिवारको पुरानो घर भूकम्पले चिराचिरा भएको छ । त्यसै घरमा सासू ससुरा बसिरहेका छन् भने छोराछोरी जोगाउन दमनकुमारी श्रीमान्सँगै टहरोमा बस्दै आउनुभएको छ ।
सोही स्थानकी फूलमती चेपाङको परिवारको पनि टहराकै बास छ । घर पूरै भत्किएपछि ऋण काँढेर बनाएको टहरोमा नअटे पछि फूलमती र बच्चाबच्ची टहरामानै बस्दै आएका छन् । त्रिपाल कुहिएपछि स्थानीय प्रभावितले दाता र ऋणको भरमा अस्थायी टहरा र छाप्रो बनाएर जीवन निर्वाह गर्दै छन् ।
गर्मीको मौसममा त्यति कठिन नहुने भए पनि जाडोमा भने पहाडमा चल्ने सिरेटोले बच्चाबच्ची र वृद्धवृद्धालाई बचाउनै मुस्किल पर्ने गरेको सिद्धि गाविस–६ मजवाङका दिवलाल चेपाङ बताउनुहुन्छ । आफ्नो पाँच जनाको परिवार टहरामा बस्दै आएको बताउँदै उहाँले राज्यले नहेरेपछि के गर्ने भनेर दुःख पोख्नुभयो ।
पहिलो वर्ष घर बन्ने आशामा काटियो दोस्रो वर्ष पनि त्यही हालत भयो केटाकेटीलाई कसरी जोगाउने दिवलालले दुखेसो पोख्नुभयो । शक्तिखोरका ५० वर्र्षीय सुकवीर प्रजाले ८३ वर्षका वृद्ध बुबालाई जाडोबाट कसरी जोगाउने भन्ने चिन्ता रहेको बताउनुभयो । भूकम्पका बेला पाएको राहतबाहेक केही पाउन नसकेको भन्दै उहाँले त्रिपालले बारेर आगो तापेर बस्न बाध्य भएको बताउनुभयो ।
सिद्धि–८ का महेन्द्र चेपाङले भूकम्पबाट प्रभावितले राहत नपाएकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो चेपाङको आँसुले सरकारलाई बगाएर लान्छ । चेपाङ सहकारी शक्तिखोरका अध्यक्षसमेत रहनुभएका महेन्द्रले गाउँमा सबैको विचल्ली छ भन्दै जाडो छल्न निकै मुस्किल परिरहेको बताउनुभयो । कोराक गाविस–८ थामतारमा रहेको राप्रावि किरणटारका प्रध्यानाध्यापक हरिलाल प्रजा राज्यले समयमानै भूकम्प प्रभावितलाई सम्बोधन गर्न नसक्दा पीडा बढ्दै गएको बताउनुहुन्छ । न खानेकुरा छ नत बस्ने स्थान छ, योभन्दा पीडा केही हुन नसक्ने भन्दै उहाँले छिट्टै घर निर्माणका पहल हुनुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पूर्ण प्रभावित १४ जिल्लाभित्र नपरेका कारण राहतमा ढिलाइ भएको बताउनुभयो । पुनःलगत सङ्कलन सुरु भइसकेकाले यो तथ्याङ्क प्राधिकरणमा गएसँगै प्रभावितको घर निर्माण सुरु हुने उहाँले जानकारी दिनुभयो ।