जिल्लाको मानवअधिकार अवस्थाबारे अनुगमन

0 Shares

डोल्पा (दुनै), ४ फागुन । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जको टोलीले जिल्लाको मानवअधिकार अवस्था बारेमा अनुगमन गरेको छ ।

मानव अधिकार अधिकृत टङ्कप्रसाद खनालको नेतृत्वमा आएको टोलीले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयको अनुगमन गरी उक्त निकायबाट प्रवाह हुने सेवा मानवअधिकारमैत्री भए नभएको विषयमा जानकारी लिइएको थियो ।

साथै टोलीले सरकारले तयार पारेको चौथो मानवअधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनका लागि सरकारी निकायलाई निर्देशनसमेत दिएको थियो ।

सरकारी निकायका प्रमुख तथा सरोकारवालासँगको छलफलमा मानवअधिकार संरक्षण सम्बद्र्धनका लागि छिटो छरितो, सर्वसुलभ रुपमा सेवा प्रवाहका गर्न आयोगको टोलीले आग्रह गरेको थियो । उक्त छलफलमा सरकारी निकायले मानवअधिकारको मूल्य, मान्यता र सिद्धान्तअनुरुप सर्वसाधारणलाई आफ्ना सेवा प्रदान गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी मानबहादुर बुढाले मानवअधिकार राष्ट्रिय कार्ययोजना अनुरुप नियमित कार्यसम्पादन गरिएको भए पनि सोहीअनुरुप अभिलेखीकरण नहुँदा कार्ययोजना कार्यान्वयन प्रभावकारी नदेखिएको बताउनुभयोे ।

जिल्लाका गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसँग भएको छुट्टै छलफलमा कार्यालयले दिनेगरेको सेवा प्रवाहको विश्वसनियताको विषयमा समेत छलफल गरिएको थियो ।

अनुगमन टोलीले आयोगमा दर्ता भएका जिल्लाका विभिन्न गाविसका उजुरीमाथि समेत अनुसन्धान गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार