विभागको निर्देशनअनुसार समिति गठन भएन

0 Shares

 

बैतडी, ५ फागुन । शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशनअनुसार बैतडीमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

शिक्षा विभागको गएको माघ मसान्तभित्र जिल्लाका सम्पूर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिएपनि हुन नसकेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो ।

बैतडी जिल्लाका ९७ प्रतिशत विद्यालयमा मात्र विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । उहाँले भन्नुभयो, “बाँकी रहेका २० वटा विद्यालयमा पनि गठन प्रक्रियामा रहेकाले केही दिनभित्रै संशोधित ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन भइसक्नेछ ।”

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा स्रोतव्यक्ति र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान रहेपनि जिल्ला शिक्षा कार्यालयमा आवश्यक जनशक्तिको अभावका कारण सम्बन्धित स्रोतव्यक्तिको संयोजनमा गठन भइरहेको जिल्ला शिक्षा अधिकारी टेरले बताउनुभयो ।

केही विद्यालयमा राजनीतिक खिचातानीका कारण समिति गठन स्थगित भए पनि अधिकांश विद्यालयमा सहजताका साथ समिति गठन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेका अधिकांश विद्यालयमा राजनीतिक खिचातानीका कारण हँुदा विवाद आएको बताइएको छ । बैतडीमा हाल तीनसय १९ प्रावि, एकसय तीन निमावि र एकसय १६ मावि गरी पाँचसय ३८ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् भने २१ संस्थागत विद्यालय सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार