रत्ननगर (चितवन), ८ फागुन । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ ।
गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिनुभयो । सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो ।
एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उहाँले जानकारी दिनुभयो ।
एक वर्षे अवधिमा दुई हजार १६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ ।
हराएको भनी माइती नेपालमा खोजीका लागि १०३ जनाको निवेदन परेकोमा ४० जना भेटिएका छन् । घरेलु हिंसामा परेका ४१ घटनामध्ये २४ घटना समाधान भएको माइती नेपालले जनाएको छ ।
पछिल्लो समयमा यातायातकर्मीलाई प्रशिक्षण दिएर उनीहरूलाई चेतना दिन थालिएको छ । सार्वजनिक यातायातमा काम गर्ने कर्मचारीले सामान्य ध्यान दिए भने यो बेचबिखन न्यूनीकरण हुनसक्ने भएकाले उनीहरूलाई चेतना दिन थालिएको हो ।