हितबहादुरको धर्म

7 Shares

काठमाडौँ, ८ फागुन । शिक्षा, समाजसेवा, वकालत र राजनीति गर्दै राजयोगमा पुग्नुभएका हितबहादुर प्याकु¥याल अहिले सुखको जिन्दगी बिताइरहनुभएको छ ।

तत्कालीन नेपाल युवक सङ्गठनका सचिव, बागेश्वरी गाविसका प्रधानपञ्चसमेत हुनुभएका राजयोगी हितबहादुर ‘धर्म’ योगी विसं २०१८ मा नरहरिनाथको प्रेरणाले गाउँमै बसी आफूले पढेको बागेश्वरी विद्यालयमा तलबविना नै प्रअ भई सेवा गर्न लाग्नुभयो । उहाँले विद्यालयका लागि पुस्तकालय पनि आफ्नै खर्चमा बनाइदिनुभयो । अहिले त्यो विद्यालयले सत्तरी वर्ष नाघ्न थालिसकेकोे छ । सानैदेखि परोपकारी भावना भएको र पूजापाठ गर्ने प्रवृत्तिका सानो हितबहादुरलाई मानिसहरुले धर्म उपनाम पनि राखिदिए । पूजापाठ नगरी त उहाँ कुनै भोजन पनि ग्रहण गर्नुहुन्न । हुन पनि उनी पाँचै वर्षमा स्वस्थानी कथा भन्न सक्ने भइसकेका थिए ।

आफू पशुबलि र हिंसा विरोधी भएकामा पनि उहाँलाई सन्तोष छ । माछामासु, अन्डा छाडेको पैँतालिस वर्ष र मदिरा छ वर्षअघिदेखि छाड्नुभएका उहाँ भन्नुहुन्छ,“सबै जनावर गाईजस्तै हुन्, मानिसले आफ्नो शरीर तन्दुरुस्त राख्न मासु खानका लागि पशु हत्या गर्नु गौहत्या सरह हो, मानिसले आफूमा रहेको काम, क्रोध, लोभ, मोह, अहङ्कारलाई पो बलि दिनुपर्छ ।”
पृथ्वीमा मानव जस्तै अरु जीवजन्तु र पशुपक्षीको पनि बाँच्न पाउने हक स्थापित गराउन उहाँले नुवाकोटका वागेश्वरी, देवीघाट आदि स्थानमा पशुबलिविरुद्धको अभियान पनि सञ्चालन गर्दै आउनुभएको छ । उहाँले धर्मका नाममा नुवाकोटमा सात मन्दिर पनि बनाइसक्नुभएको छ ।
यो शरीर हाम्रो होइन भन्ने राजयोगी धर्म मानिस अशरीरी हुनुपर्नेमा जोड दिनुहुन्छ । “मान्छेले छाडेर जाने त धर्म र कीर्ति नै हुन्, भोगविलासमा किन लाग्ने ?” उहाँ प्रश्न गर्नुहुन्छ ।
नौ पटक राजनीतिक र अन्य कारणबाट कारावास यात्रा गर्नुभएका हितबहादुरले धेरै पटक बिनाअपराध ज्यान मुद्दा पनि भोग्नुभएको छ । ती सब बिर्सेर उहाँ नुवाकोट र छिमेकी जिल्ला रसुवामा धारा, चौतारा, विद्यालय, सडक निर्माण जस्ता समाजसेवामै संलग्न हुनुभयो । उहाँको सम्मान गर्दै गाउँलेले नुवाकोट तोपखानादेखि चोकदे हुँदै लच्याङ, ओखरे उर्लेनीसम्मको सडकको नामकरण नै ‘हितबहादुर मार्ग’ राखिदिए ।
प्रजापिता ब्रह्माबाबामा निराकार शिव परमात्माले दिव्य अवतरण भएर ब्रह्माकुमारी संस्थाको स्थापना भएपछि सुरु भएको निराकार ज्योतिर्विन्दु शिवबाबा प्रवेश गरी ज्ञानयोगका माध्यमबाट आत्माहरुलाई देवीदेवतासमान बनाइरहेको मान्यता ब्रह्माकुमारी र ब्रह्मकुमारहरु राख्छन् जो ब्रह्माकी अलौकिक पुत्री र पुत्र मानिन्छन् ।
तिनै ब्रह्मकुमार हितबहादुरले भक्ति सकी ज्ञानमार्गमा आएपछि आफ्नै घरपरिसरमा रहेको रुद्राक्ष वृक्षमा ब्रह्माबाबा(भगवान्)बाट दुई वर्षअघि ज्योतिदर्शन पाउनुभएका ‘धर्म’ बाबाको यो महावाणीलाई सधैँ सम्भनुहुुुन्छ–यदि तिमी भगवान्को ध्यान राख्छौ भने उहाँले तिम्रो ध्यान राख्नुहुनेछ ।” त्यसैले त उहाँले ब्रह्मकुमारी संस्था, माउन्ट आबु मधुवन, राजस्थान र उसका शाखाहरुबाट धेरै सम्मान र दोसल्ला पाउनुभएको छ ।
“सबै संसार र यहाँका धर्महरु ज्योतिर्विन्दुबाट नै रचना भएको हो, सबै सम्प्रदायले प्रकाश मानेका छन्, त्यो ब्रह्मा, विष्णु र महेश्वरका पनि रचनाकार हुन् ।” संस्थाको यो मान्यतालाई नै उहाँले राम्रोसँग बुझ्नुभयो र जीवनको आनन्द भोगिरहनुभएको छ । अठहत्तर वर्षमा पनि उहाँ चस्मा लगाउनुहुन्न, कान राम्रो सुन्नुहुन्छ, शरीर तन्दुरुस्त छ । मधुवनका पहाड पनि उहाँ अरुभन्दा सहज रुपले चढ्नुहुन्छ ।
मेची महाकाली जनसमन्वय दल, नेपाल देशभक्त पार्टी र नेकपा(एकीकृत) पार्टीमा संलग्न भई तत्कालीन रापंस र पछि संसद्मा पनि उम्मेदवारी दिनुभएका उहाँ हाल स्वतन्त्र रहिआउनुभएको छ । अब उहाँ बाबा र मृतात्माहरुसँग पनि वार्तालाप गर्न सकिरहेको जिकिर गर्नुहुन्छ । आफ्ना पत्नी, छोराछोरी र आफन्त कोही आफ्ना नमान्ने हितबहादुर धर्मको अन्तिम इच्छा भने मधुवन(माउन्ट आबु)मै आफ्नो शरीर त्याग गर्ने हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार