काठमाडौँ, ८ फागुन । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन क्षेत्रलाई जनताको जीविकोपार्जनसँग जोडेर राष्ट्रिय उत्पादनको मूल आधार बनाउनुपर्ने बताउनुभएको छ ।
वन विभागद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय वन संवद्र्धन कार्यशाला गोष्ठी’मा मन्त्री भण्डारीले वन क्षेत्रको प्रभावकारी संरक्षण गर्न मन्त्रालय मातहतका सबै जिल्ला कार्यालयलाई साधन स्रोतसम्पन्न बनाइने विश्वास दिलाउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले वन क्षेत्रको संवद्र्धन कार्यलाई मानव र वन्यजन्तुको हितमा उपयोग हुने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
वन सचिव प्रकाश माथेमाले विगतमा लागू भएका दिगो वन व्यवस्थापनका कार्यक्रमको बुझाइमा फरकपन देखिएकाले एकरुपताका लागि समीक्षाको आवश्यकता रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक विजयराज पौडेल, पूर्वसचिव स्वयम्भूमान अमात्य, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष गणेशबहादुर कार्कीलगायतले गोष्ठी दिगो वैज्ञानिक वन व्यवस्थापनका सिकाइ र अनुवांशिक स्रोत तथा वृक्ष सुधारका बारेमा छलफल गरी निष्कर्ष निकाल्न उपयोगी हुनेमा जोड दिनुभयो ।
सो अवसरमा वन अनुसन्धान रणनीति, २०७३ सार्वजनिक गरिएको थियो । विभागले वनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा ‘दिगो वन व्यवस्थापनका लागि वन संवद्र्धन’ भन्ने नाराका साथ गोष्ठी आयोजना गरेको हो । यही फागुन ८ देखि १० गतेसम्म हुने गोष्ठीमा स्वदेश र विदेशबाट ५१ र १९ पोस्टर प्रस्तुत हुने आयोजक समितिले जनाएको छ । गोष्ठीमा वनसँग सम्बन्धित १० विदेशी तथा १५० स्वदेशी विज्ञको सहभागिता रहेको वन विभागका उपमहानिर्देशक हेमलाल अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रिय प्राणी उद्यान छिटो बन्ने
भक्तपुर– वनमन्त्री भण्डारीले मुलुकमा धर्मका नाममा केही व्यक्तिले वन अतिक्रमण गरिरहेकाले त्यसलाई रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले देशभरि भइरहेको वन अतिक्रण रोक्न सरकारले विशेष रुपमा योजना बनाएर अगाडि बढिरहेको जानकारी दिनुभयो ।
मन्त्री भण्डारीले भक्तपुरमा बन्न लागेको राष्ट्रिय प्राणी उद्यान निर्माणलाई चाँडोभन्दा चाँडो पूर्णता दिन सरकार लागिपरेको पनि बताउनुभयो ।
अर्काे प्रसङ्गमा उहाँले सबैको सहमतिमा निर्वाचन गर्न नेकपा( एमाले) र मधेसकेन्द्रित दलसँग सरकारले वार्ता र संवादलाई निरन्तरता दिइरहेको बताउँदै निर्वाचनमा नजाने घुर्की कसैले लाउँदैमा निर्वाचन नरोकिने प्रस्ट पार्नुभयो ।