२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

क्यान्सर पीडित बालकुमारीलाई सहयोग जुटाउन सुरु



म्याग्दी, ९ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी क्यान्सर पीडित बालकुमारी चोखालको उपचारमा आर्थिक स्रोत जुटाउन अभियान सुरु गरिएको छ ।

काउलेगौडा युवा क्लबका भलिबल खेलाडी सुजन चोखालकी आमा बालकुमारी आन्द्राको क्यान्सरबाट पीडित भएपछि क्लबको नेतृत्वमा उपचारमा आर्थिक सहयोग जुटाउने अभियान थालिएको हो । क्यान्सर पीडित चोखालको हाल काठमाडौँ क्यान्सर अस्पताल भक्तपुरमा उपचार भइरहेको अािर्थक अभियान संयोजक काउलेगौडा युवा क्लबका संस्थापक अध्यक्ष तेजन्द्र बानियाँले बताउनुभयो ।

उहाँले चोखालको उपचारका लागि काउलेगौडा युवा क्लबले हालै बेनीमा सम्पन्न चौथो युवा भलिबल प्रतियोगितामा विजयी भएर प्राप्त गरेको पुरस्कारबाट रु २५ हजार सहयोग गरिसकेको बताउनु भयो ।

त्यस्तै चोखालको उपचारमा जिल्ला खेलकुद विकास समितिले रु ११ हजार एक सय ११, जिल्ला भलिबल सङ्घका अध्यक्ष रमेशकुमार श्रेष्ठ, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्र केसी, काउलेगौडा युवा क्लबका संस्थापक अध्यक्ष एवम् प्रशिक्षक तेजेन्द्र बानिया, खेलाडी गङ्गाराज बानिया चिरन्जीवी सुुवेदी, विमल सुवेदीले जनही रु पाँच हजारका दरले सहयोग गरिसक्नुभएको छ ।

क्लबले चोखालको जीवनरक्षाका लागि सबैलाई सहयोग गर्न आह्वानसमेत गरेको छ । घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारमा लाखौँ रुपैयाँ आवश्यक पर्ने भएपछि पीडित क्षेत्रीको उपचारमा लाग्ने खर्च जुटाउन काउलेगौडा युवा क्लबको संयोजन, ओमकुमारी शान्ति कोषको संरक्षक र जिल्ला खेलकुद विकास समितिको समन्वयमा अभियान सुरु गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७३, सोमबार  ३ : ३५ बजे