बाबियाचौर (म्याग्दी), ९ फागुन । बेनी नगरपालिका–१३ मा रहेको प्राकृतिक तातोपानी कुण्डको आम्दानीले सामुदायिक विद्यालय सञ्चालन भएको छ ।
नदी किनारमा वीरेनुनको गन्धमा निस्कने तातोपानीलाई तलाउमा सङ्कलन गरी स्नान गर्ने सुविधा दिएबापत लिइने शुल्क सरस्वती मावि सञ्चालनको स्रोत बनेको हो । हाल तीन सय २० जना बालबालिका अध्ययनरत उक्त विद्यालयमा निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि विसं २०६६ देखि निरन्तर सहयोग उपलब्ध गराउँदै आएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।
विसं २०६६ देखि निमावि र २०६९ देखि मावि तहको पठनपाठन सञ्चालन गरेको विद्यालयमा कार्यरत १७ जनामध्ये निजी स्रोतका १२ जना शिक्षक–शिक्षिकालाई तातोपानी कुण्डको सहयोगमा तलब खुवाउँदै आएको हो । २०७० सालमा रु नौ लाख, २०७१ मा रु ११ लाख २८ हजार र २०७२ मा १५ लाख सहयोग गरेको कुण्ड व्यवस्थापन समितिले यस वर्ष रु १६ लाख उपलब्ध गराएको अध्यक्ष शाक्यले बताउनुभयो । शिक्षकको तलबभत्ताका साथै जग्गा खरिद गर्न २० लाख रुपैयाँ सहयोग गरेको छ ।
तातोपानीका साथै सिमलचौर, पखेर र राक्से गाउँका बालबालिका मावि पढ्नका लागि घन्टाँै पैदल हिँड्नुपर्ने समस्या भएपछि २०२८ सालमा स्थापित विद्यालयलाई तातोपानीको आयस्रोतलाई आधार बनाएर स्तरवृद्धि गरिएको प्रअ नोठबहादुर बानियाले बताउनुभयो । कक्षा ११ र १२ को पनि पठनपाठन सुरु गर्ने तयारी भएको छ । जमिनभित्रबाटै ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरिएको तलाउमा स्नान गर्ने र तातोपानी पिएर ग्यास्ट्रिक, पेट, छाला, चोट पटक लागेको जस्ता रोगको उपचार गराउन वार्षिक १६ हजारको अनुपातमा बिरामी आउँछन् ।
दुई सय रुपैयाँ प्रवेश शुल्क तिरेपछि ११ दिनसम्म कुण्डमा स्नान गर्न पाउने व्यवस्था रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव मीनबहादुर बानियाले बताउनुभयो । प्रवेश शुल्कको २५ प्रतिशत आम्दानी बेनी नगरपालिकालाई उपलब्ध गराउँदै आएको छ ।