सुरुङ्गा (झापा), १० फागुन । नेपाल पत्रकार महासङ्घ झापाको अध्यक्षमा तारामणि सापकोटा निर्वाचित हुनुभएको छ ।
आज बिहान सम्पन्न मत गणनाबाट अध्यक्षका प्रत्यासी उम्मेदवार गोपाल काफ्लेलाई १३ मतले पराजित गर्दै सापकोटा निर्वाचित हुनुभएको हो ।
सापकोटाले १२९ मत प्राप्त गर्नुभयो भने काफ्लेले ११६ मत प्राप्त गर्नुभयो । सापकोटा सजिलो खबर डटकमका सम्पादक हुनुहुन्छ ।
त्यस्तै, खुल्ला उपाध्यक्षमा गोपाल झापालीलाई ६२ मतले पराजित गर्दै एकराज गिरी निर्वाचित हुनुभएको छ । गिरीले १५६ मत प्राप्त गर्नुभयो । उहाँका प्रत्यासी उम्मेदवार झापालीले ९४ मत मत प्राप्त गर्नुभयो ।
यसैगरी, महिला उपाध्यक्षमा भीमाकुमारी शिवाकोटी निर्वाचित हुनुभएको छ । शिवाकोटीले १४८ मत प्राप्त गर्नुभयो । उहाँकी प्रत्यासी उम्मेदवार लीला अनमोलले ९२ मत प्राप्त गर्नुभयो ।
सचिवमा गिरीराज भट्टराईलाई पाँच मतलेपछि पार्दै सन्तोष आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले १२३ मत प्राप्त गर्नुभयो भने भट्टराईले ११८ मत प्राप्त गर्नुभयो ।
खुल्ला सहसचिवमा केशव भट्टराई १५२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँले अर्जुन कार्कीलाई पराजित गर्नुभएको हो । कार्कीले ९२ मत प्राप्त गर्नुभयो । समावेशी सहसचिवमा आत्माराम राजवंशीलाई पराजित गर्दै इन्द्रजीत मुखिया निर्वाचित हुनुभएको छ । मुखियाले १३२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्यासी राजवंशीले १०७ मत प्राप्त गर्नुभयो ।
यसैगरी, कोषाध्यक्षमा ईश्वर अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले यमनाथ विमलीलाई पराजित गर्नुभएको हो । अधिकारीले १२८ मत प्राप्त गर्नुभयो भने विमलीले ११५ मत प्राप्त गर्नुभएको छ ।
यता महिला सदस्यमा भने सुष्मा राजवंशी १३४, दलित सदस्यमा रञ्जित परियार १३९, जनजातिमा अनिलदेव राई १२४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
त्यस्तै, खुल्ला सदस्यतर्फ उत्तम नेपाल ११७, देवु बानियाँ १२२, पार्थ मण्डल १२४, विनोद सापकोटा १२७, रञ्जित प्रसाईं ११७, रमेश तिवारी १२२, लक्ष्मी काफ्ले १२४, लीलाराज झापाली ११९ , सुशीला सङ्ग्रौला ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।
केन्द्रीय पार्षद् र प्रदेश पार्षद्को मत गणना जारी रहेको निर्वाचन समितिका सदस्य दीपेन्द्र भट्टराईले जानकारी दिनुभयो ।
मोती पत्रकारिता पुरस्कार भण्डारीलाई
यसैबीच, नेपाल पत्रकार महासङ्घ झापाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कारबाट यस वर्ष अग्रज पत्रकार चन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
महासङ्घको १२औँ अधिवेशन समारोहका बीच सोमबार पत्रकार महासङ्घका संस्थापक महासचिव भण्डारीलाई उक्त पुरस्कार नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले प्रदान गर्नुभएको थियो ।
त्यस्तै, महासङ्घले नै स्थापना गरेको कोटे पत्रकारिता पुरस्कारबाट डिकेश लामा पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु १५ हजार रहेको छ । सप्तरङ्गी एफएम दमकमा आबद्ध लामालाई पनि उक्त पुरस्कार महासङ्घका केन्द्रीय अध्यक्ष डा विष्ट र महासङ्घका पूर्व महासचिव पोषण केशीले संयुक्तरुपमा प्रदान गर्नुभयो ।
यसैगरी, पत्रकारिता दीर्घसेवी सम्मानबाट यस वर्ष चारजना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा गोविन्दचन्द्र क्षेत्री, नकुल काजी, गञ्जबहादुर दाहाल र अमृतलाल श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै, पत्रकार सहारा उपचार कोषमा रु पाँच लाख प्रदान गर्दै महत्वपूर्ण सहयोग पु¥याउने सहारा नेपाल साकोसलाई समेत सम्मान गरिएको छ । उक्त सम्मान संस्थाका कार्यकारी निर्देशक महेन्द्र गिरी र उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले ग्रहण गर्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका पूर्व महासचिव तथा १२औँ जिल्ला अधिवेशनका केन्द्रीय प्रतिनिधि ओम शर्माको विशेष आतिथ्य रहेको थियो ।