पत्रकार शाहीको उपचारार्थ सहयोग

0 Shares

पोखरा, ११ फागुन । मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका पोखराका क्रियाशील पत्रकार नारायण शाहीको उपचारार्थ यहाँका सञ्चारकर्मी सङ्गठित भएर आर्थिक सहयोगमा जुटेका छन् ।

एउटा सहकर्मीको अप्ठेरोमा अर्कोको सहयोग अपरिहार्य हुने भन्दै सुरु गरिएको अभियानअन्तर्गत एकै दिनमा रु ३४ हजार सातसय सङ्कलन गरी पत्रकार शाहीलाई मंगलबार साँझ हस्तान्तरण गरिएको नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार पत्रकार शाहीको उपचारका लागि सञ्चालन गरिएको अभियानमा कास्की आवाज दैनिककी अध्यक्ष सरस्वती गुरुङले रु ११ हजार, पोखरा न्युजडटकम (गणेश बराल) रु तीन हजार, सुरेन्द्र पौडेल रु दुई हजार, त्रिभुवन पौडेल रु दुई हजार, राम गुरुङ्ग र प्रशान्त लामिछाने जनही रु एकहजार पाँचसय, रामजी लम्साल रु एक हजार १११, विमला भण्डारी रु एक हजार दुई सय र दिपेन्द्र पहारीले रु एकहजार एकसय नगद सहयोग गर्नुभएको थियो ।

पोखरा रामबजारमा गत मङसिर २२ गते मोटरसाइकल दुर्घटनामा परी दाहिने हातको पाखुरा र कुममा गहिरो चोट लागेका कारण शल्यक्रिया गरिएका पत्रकार शाहीले यतिखेर नियमितरुपमा फिजियोथेरापी गराई रहनुभएको छ ।

काठमाडौँबाट २० वर्षअघि दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका ४६ वर्षीय शाही पोखराबाट प्रकाशित ‘आदर्श समाज’ राष्ट्रिय दैनिक र गण्डकी मिडिया हाउसमा आवद्ध हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार