क्यान्सर पीडितलाई रु दुई लाख सहयोग

7 Shares

रत्ननगर (चितवन), १० फागुन । रक्त क्यान्सरबाट पीडित चितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१३ जयमङ्गलाकी रश्मी पाण्डे खनालको उपचारका लागि यहाँ करिब रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ ।

उनका परिवारले उपचारका लागि सहयोगको अपिल गरेपछि मंगलबार नेकपा (माओवादी केन्द्र) रत्ननगरले रु १ लाख ३२ हजार रुपैयाँ सहयोग गरेको हो ।

माओवादी केन्द्रले रत्ननगर नगरपालिकाको वडा नम्बर ९ र १३ का आफ्ना कार्यकर्तासँग उठाएर रु १ लाख ३२ हजार ५५० क्यान्सरपीडित खनालको उपचारका लागि सहयोग गरेको हो ।

नेकपा (माओवादी केन्द्र) रत्ननगरका सहइन्चार्ज राजु अम्गार्इंले सो रकम बैकमा जम्मा गरी रश्मीका बुबा नारायणप्रसाद खनाललाई भौचर हस्तान्तरण गर्नुभएको थियो ।

रश्मीको उपचारका लागि रत्ननगरका व्यवसायी राजाराम रेग्मी र इन्द्रवहादुर श्रेष्ठको नेतृत्वमा आर्थिक सङ्कलन गरेर रु ४२ हजारसमेत सहयोग गरिएको थियो ।

उनको उपचारका लागि सहयोगको अपिल गर्दै परिवारले हिमालयन बैंकमा खाता खोलेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले परिवारबाट उपचार सम्भव नभएपछि आर्थिक सङ्कलन गरेर हस्तान्तरण गरिएको सहइन्चार्ज अम्गाईले बताउनुभयो ।

रश्मीका बुबा नारायण खनालले आफ्नी छोरीको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ ।

रश्मीको बोनम्यारो प्रत्यारोपणका लागि झन्डै रु ५० लाख रकम लाग्ने चिकित्सकले बताएको उनका बुबा नारायणले जानकारी दिनुभयो ।

तीस वर्षीया रश्मीको हाल भारतको नयाँदिल्ली स्थित बी.एल.के. स्पेसलिष्ट सिटी अस्पतालमा उपचार भैरहेको परिवारले जनाएका छन् । चितवन र काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको हो । गएको मङ्सिरमा उनलाई रक्त क्यान्सर भएको पत्ता लागेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार