ओखलढुंगा, १३ फागुन । ओखलढुंगा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा चार विद्यार्थी संगठन भिड्ने भएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरमले उम्मेद्वारी दर्ता गरेका छन् । उमेर हदका कारण विद्यार्थी संगठनहरुलाई प्रभावकारी उम्मेद्वार चयन गर्न समस्या भएको छ । अनेरास्ववियु बाहेकका अन्य संगठनले पुरा संख्यामा प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता गरेका छैनन् । नेविसंघ र अखिल क्रान्तिकारीले प्रत्यक्ष तर्फ ९ सिटमा ८ र समाजवादी विद्यार्थी फोरमले ४ सिटमा मात्र उम्मेद्वारी दर्ता गरेको छ ।
क्याम्पसको निर्वाचन समितिका अनुसार भोलिसम्म उम्मेद्वारी फिर्ता लिने समय रहेको छ । ०६५ चैतमा भएको निर्वाचनमा प्यानलै जितेको अनेरास्ववियुले यस पटक पनि जित्ने दावी गरेको छ । चार संगठनमध्ये समाजवदी विद्यार्थी फोरम तुलनात्मक रुपमा कमजोर छ । अन्य तीन संगठनबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सत्तारुढ संगठन अनेरास्ववियुलाई विराशत जोगाउन चुनौति छ भने अन्य संगठन इतिहाँस रच्न लागि परेका छन् ।
चारसय मतदाता रहेको क्याम्पमा नियमित विद्यार्थी अतिकम रहेकाले मत परिणाम आँकलन गरे अनुसार नहुने बताइएको छ । यद्यपी नियमित तर्फका विद्यार्थी अधिकांश अखिलमा आवद्ध भएको र क्याम्पसमा समेत कमिटी सक्रिय रहेकाले अनेरास्ववियुले जित्ने निश्चित रहेको केन्द्रिय सदस्य तथा जिल्ला ईञ्र्चाज दिपक फुयलले बताए । उनले अखिल एक्लैले जितेर देखाउने दावी गरे ।
अखिलका जीवन भन्छन्ः ‘उम्मेदवार नै नपुर्याउने मेरा प्रतिस्पर्धी होइनन्’
प्रतिस्पर्धी बलियो देखिएपछि अन्य संगठन भने संयुक्त प्यानल बनाउने अभ्यासमा समेत जुटेका छन् । उम्मेदवारी दर्तामा समेत विद्यार्थी नपुर्याउने संगठनका उम्मेदवार आफ्ना प्रतिस्पर्धी नै नरहेको अनेरास्ववियुको तर्फबाट सभापतिका उम्मेद्वार जीवनकुमार कट्वालले बताए । ‘उम्मेदवार नै पुर्याउन नसक्नेहरु मेरा प्रतिस्पर्धी नै होइनन्’ उनले भने । अनेरास्ववियुले प्रत्यक्षतर्फ सभापतिमा कट्वाल, सचिवमा विकल्प भट्टराई र कोषध्यक्षमा जीवन खत्रीलाई अघिसारेको छ ।
त्यस्तै सदस्यहरुमा जिल्ला अध्यक्ष अशेष श्रेष्ठ, धनराज चौलागाइ, दुर्गा थापा क्षेत्री, कमलप्रसाद धमला, सुस्मिता श्रेष्ठ र पार्वती खत्री रहेका छन् । समानुपातिक तर्फ ६ जना उम्मेदवार रहने व्यवस्था छ । अनेरास्वयिुका जीवन कट्वालका प्रतिस्पर्धी क्रानितकारीका केन्द्रिय सचिव बशन्त कट्वाल र नेविसंघका हरिचन्द्र श्रेष्ठ रहेका छन् ।