काठमाडौँ, १६ फागुन । मोतिदेवी स्मृति केन्द्रले समाजको विकासमा विभिन्न क्षेत्रबाट योगदान गरेका आठ महिलालाई ‘मोतिदेवी स्मृति सम्मान’ प्रदान गर्ने भएको छ ।
सम्मानित हुनेमा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला आचार्य, विसं २०२६ मा प्याराजम्प गर्ने साहसिक महिला अन्नपूर्ण कुँँवर, निजामती सेवामा दृष्टिविहीन अधिकृत निरा अधिकारी, दाइजो प्रथाको विरुद्ध चेतना फैलाउने अभियन्ता रिङ्कु ठाकुर, कृषि क्षेत्रमा सूचना प्रवाह गर्ने जेटिए लक्ष्मी भुसाल, राजनीतिज्ञ चन्द्रकला बराल, उद्यमी कल्पना योङ्हाङ, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार हुनुहुन्छ ।
नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव पुष्पलालका समकालीन राजनीतिज्ञका रुपमा मोतिदेवी हुनुहुन्छ । उहाँले नेपालमा जहानिया राणा शासनको विरुद्ध जनमत निर्माण गर्नुभएको र विसं २००६ मा काठमाडौँबाट पैदलयात्रा गरी कलकत्ता पुग्नुभएको थियो । त्यहाँ नेपाल कम्युनिस्ट पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकमा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील महिलालाई मोतिदेवीको स्मरणमा विगत चार वर्षदेखि सम्मान गर्दै आएको जानकारी दिनुभयो । उहाँले साहसिक कार्यबाट मुलुकको सामाजिक, आर्थिक तथा राजनीतिक विकासमा योगदान गरेका महिलालाई त्यस क्षेत्रमा हौसला थप गर्न यस्तो सम्मान गर्न लागिएको बताउनुभयो ।