बुटवल, १६ फागुन । देश दर्शनका लागि निस्किएको ज्येष्ठ नागरिकको टोलीले आज लुम्बिनीको अवलोकन गरेको छ ।
एक साताका लागि राजधानीबाट निस्किएका ज्येष्ठ नागरिकको टोलीलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बिदाइ गर्नुभएको थियो । ज्येष्ठ नागरिकलाई देशका महत्वपूर्ण प्राकृतिक, ऐतिहासिक तथा तीर्थस्थलको भ्रमण गराउने कार्यक्रमअन्तर्गत आज बुद्ध जन्मस्थल अवलोकन गराइएको हो । लुम्बिनीमा ज्येष्ठ नागरिकले मायादेवी मन्दिरमा पूजा तथा प्रार्थना गरेका थिए । यस्तै उनीहरुलाई लुम्बिनीमा रहेका बिभिन्न बौद्ध गुम्बाको समेत अवलोकन गराइएको मनमोहन स्मृति प्रतिष्ठनका सचिव शान्ति अधिकारीले बताउनुभयो । मनमोहन स्मृति प्रतिष्ठानले एक सय ५० ज्येष्ठ नागरिकलाई हरेक वर्ष झैँ यस पटक पनि देशदर्शन गराइरहेको छ ।
लुम्बिनीमा उहाँहरुलाई भिक्षु सागरले बौद्ध दर्शनका बारेमा जानकारी दिनुभएको थियो । उहाँले प्रतिष्ठानले हरेक वर्ष यस किसिमको देश दर्शन गराउनु वृद्धवृद्धाको र मनमोहन अधिकारीको समेत सम्मान हो भन्दै यस किसिमका कार्यक्रम सरकारले नै सञ्चालन गर्दा अझै प्रभावकारी हुने बताउनुभयो ।
सो अवसरमा लुम्बिनी विकास कोषका पूर्वकोषाध्यक्ष लक्ष्मीदास मानन्धरले लुम्बिनी, बौद्ध दर्शन र यसको महत्वबारे जानकारी गराउनुभएको थियो । ज्येष्ठ नागरिकहरु लुम्बिनी, चितवन र कास्कीको भ्रमण गरी यही फागुन १७ गते घर फर्कनेछन् । टोलीमा मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडाँैको स्वास्थ्य टोलीसमेत सहभागी छ ।