सिँजा बहुमुखी क्याम्पसको सभापतिमा खत्री

0 Shares

 

जुम्ला, १७ फागुन । जुम्लाको सिँजास्थित सिँजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेवि सङ्घका अमरसिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।

सम्पूर्ण विद्यार्थी सङ्गठनको सहमतिका आधारमा सोमबार खत्री सभापतिमा निर्वाचित हुनुभएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत नवीन शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी, उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा निर्वाचित हुनुभएको अधिकृत शर्माले बताउनुभयो ।

यसैगरी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी र सदस्य धनमान रोकाया र गोविन्द रोकाया निर्वाचित भएको स्ववियु निर्वाचन समितिले जनाएको छ ।

विसं २०६५ मा स्थापना भएको सिंजा बहुमुखी क्याम्पसमा ७७ जना विद्यार्थी रहेका थिए । खत्री सिंजा बहुमुखी क्याम्पस स्थापनाकालको पहिलो स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित सभापति खत्रीले जनशक्ति र भौतिक पूर्वाधारको समस्या भएको यो क्याम्पसको उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ ।

जुम्ला बहुमुखी क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण आजका दिनसम्म चुनाव हुने वा नहुने भन्ने यकिन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार