रसुवा, १८ फागुन । नेपाल पत्रकार महासङ्घ रसुवाको तेस्रो जिल्ला अधिवेशनले हेमनाथ खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
निर्वाचन अधिकृत ऋषि अधिकारीका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पौडेल र महिला उपाध्यक्षमा अनु शर्मा, सचिवमा सीमा तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा, सहसचिवद्वयमा प्रभाकर अधिकारी(खुला) र कमल तामाङ (समावेशी) रहनुभएको छ । त्यस्तै खुला सदस्यमा सरस्वती न्यौपाने, पूर्णिमा स्याङ्वा, विश्वास नेपाली, महिलातर्फ लक्ष्मी थापा मगर, दलिततर्फ झरना नेपाली र जनजातितर्फ कविता स्याङ्वा रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय सभासद्मा बलराम घिमिरे, निराजन पौडेल, हरिप्रसाद गजुरेल, विजया तिवारी र दीपक लामा तथा
प्रदेश सभासद्मा राकेश लामा, ठाकुरप्रसाद अधिकारी, हिमनाथ देवकोटा, पविना स्याङ्वा, सरिता लामिछाने र कमला तामाङलाई
चयन गरेको छ ।
धादिङ– महासङ्घ धादिङको मङ्गलबार सम्पन्न आठौँ महाधिवेशनबाट बहुमतले नवराज छतकुली ९६ मत प्राप्त गरी पुनःअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी पोषनाथ अधिकारीले ८९ मत प्राप्त गर्नुभएको थियो । कुल मतदाता एक सय ९४ रहेकामा एक सय ८७ जनाले मतदान गरेका थिए । नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तथा प्रेस चौतारी नेपाल तथा प्रेस सोसाइटीबीच गठबन्धन भई चुनावी प्रतिस्पर्धा गरेका थिए ।