ओखलढुंगा, १८ फागुन । ओखलढुंगा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकिो मिति नजिकिदै जाँदा क्याम्पसमा चुनावी सभा हुने क्रम बढेको छ । ओखलढुंगाका सात क्याम्पसमध्ये दुई क्याम्पसमा चुनाव हुने निश्चित भएको छ । शहिद आदर्श क्याम्प रामपुरमा चैत १२ र ओखलढुंगा क्याम्पसमा फागुन २१ गते मतदान हुने निश्चित भएको हो ।
चुनावको मिति नजिकिएपछि क्याम्पसमा चुनावी चहलपहल बढेको छ । पर्चा र पोष्टरले बजार तथा क्याम्पस परिसर रंगिएका छन् । चुनावी प्रचार अभियानकै क्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आज क्याम्पसमा सांस्कृतिक कार्यक्रमसहित चुनावी सभा गरेको छ ।
अखिलले चुनावी सभामा आफ्ना एजेण्डाहरु समेत प्रस्तुत गरेको छ । कार्यक्रम अनेरास्ववियुका पूर्व नेता तथा निर्वतमान स्ववियु सदस्य रोशन शाक्यले अखिलको हाम्रो क्याम्पस राम्रो क्याम्पस अभियनन बारे बताएका थिए । एमाले जिल्ला सचिव शंकर कट्वाल कार्यक्रमका प्रमुख अतिथि थिए । उनले अखिलले उठाएका एजेण्डा एमालेका भएकाले आफुहरुले पुरा गर्न गर्न सहयोग गर्ने बताए ।
कार्यक्रमलाई अखिलका उम्मेदवारहरु, सभापतिका उम्मेदवार जीवनकुमार कट्वाल, सचिवका उम्मेदवार विकल्प भट्टराई र कोषाध्यक्षका उम्मेदवार जीवन खत्रीले आफुहरुलाई विजयी गराउन विद्यार्थीहरुलाई अनुरोध गर्दै अखिलका एजेण्डा प्रस्तुत गरेका थिए ।
यस्ता छन्, अखिलका हाम्रो क्याम्पस राम्रो क्याम्पस अभियानका एजेण्डा
विगतमा अनेरास्ववियुको नेतृत्वमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले शुरु गरेको एक संकाय एक विद्यार्थी पूर्ण छात्रवृति, निरन्तर कार्यन्वन गर्न
हरेक वर्षको परीक्षामा उत्कृष्ट अंक ल्याएकामध्ये एक जना विद्यार्थीलाई मासिक शुल्कमा आधा मिनाहा, समावेशी तर्फ एक जना दलित, एक जना जनजाति र एक जना जेहन्दार विद्यार्थीलाई ३३ प्रतिशत शुल्कमा मिनाहा गरिने ।
क्याम्पसमा अव्यवस्थित पुस्तकलायलाई व्यवस्थित गरि पुस्तकालयमा थप एक हजार नयाँ पुस्तक थपिने छ । पुस्तकालय कार्ड व्यवस्था परि कोर्षका पुस्तक आलोपालो पढ्न र फिर्ता गर्ने व्यवस्थालाई कार्यन्वयन गरिने छ ।
क्याम्पसमा खानेपानीको व्यवस्थापन गर्न यस अघिको स्ववियुले शुरु गरेको कामलाई पूर्णता दिइ खानेपानी, शौचालयको व्यवस्थापन गरिने छ ।
अभ्यास शिक्षणका नाममा लिइने अनियमित शुल्क वैज्ञानिक र नियमानुसार लिने व्यवस्था मिलाइने छ ।
नियमित कक्षा संचालन, समयसम्म शिक्षकहरु क्याम्पसमा रहेर शिक्षण गर्ने, अतिरिक्त क्रियाकलाप संचालन गर्ने वातावरण निर्माण गर्न क्याम्पस प्रशासनसँगको सहकार्यमा शैक्षिक क्यालेण्डर निर्माण गरिने छ ।
दक्ष, योग्य र विषयगत शिक्षक व्यवस्था गर्न पहल गरिने छ ।
अनियमित हिसावले बृद्धि गरिने मासिक शुल्क व्यवस्थित गर्दै शुल्क बढाउनु पर्ने वैज्ञानिक र स्पष्ट कारण खोजी गरिने छ । कम्तिमा दुई वर्षसम्म मासिक शुल्क बृद्धि गर्न दिइने छैन ।
ओखलढुंगा क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन पहल गरिने छ ।