भक्तपुर, १९ फागुन । लोपोन्मुख अवस्थामा पुगेको परम्परागत वाद्य एवम् सांस्कृतिक नृत्यका गुरु मध्यपुरथिमि नगरपालिका–७ पाँचो निवासी श्रीगोपाल प्रजापतिलाई मध्यपुर थिमिमा नागरिक अभिनन्दन गरिने भएको छ ।
ओस्ला नेपालको संयोजन तथा मध्यपुर थिमिका १०१ सामाजिक सङ्घसंस्थाको सहभागितामा उहाँको ८७औँ जन्मोत्सवको अवसर पारेर नागरिक अभिनन्दन गरिने भएको आज यहाँ आयाेिजत पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
ओस्ला नेपालका संयोजक मदनसुन्दर श्रेष्ठले आगामी शनिबार मध्यपुरथिमिस्थित बालकुमारीमा उपराष्ट्रपति नन्दबहादुर पुनको आतिथ्यमा सो अभिनन्दन गरिने बताउनुभयो ।
अभिनन्दनमा श्रीगोपाल प्रजापतिको तस्बिर अङ्कित चाँदीको सिक्का सार्वजनिक गरिनेछ, श्रीगोपाल प्रजापतिको ‘आत्मवृत्तान्त अनवरत सांस्कृतिक पाइला’ नामक स्मारिका समेत सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।
सो दिन वाद्यगुरु प्रजापतिले सिकाउनुभएको बाजा, सांस्कृतिक नृत्य, झाँकी सहितको बृहत् ¥यालीले थिमिकोे बाहाखाबजारदेखि चपाचो, दुईपोखरी, बालकुमारीलगायत नगरका विभिन्न स्थानको परिक्रमापछि बालकुमारी डबलीमा नागरिक अभिनन्दन गरिने भएको हो ।
श्रीगोपाल प्रजापति मध्यपुर थिमि र भक्तपुरमा सञ्चालित सांस्कृतिक नाचहरु भैरव नाच, महाकाली नाच, अष्टमात्रिका नाच, भष्मासुर नाच, लाखे नाच, ज्यापू ज्यापूनी नाच, नागाचा, भतिमचा आदिका नृत्यगुरु एवम् वाद्यगुरु हुनुहुन्छ ।