काठमाडौँ, २० फागुन । लेसोथोका लागि नेपाली राजदूत अमृतबहादुर राईले त्यहाँका राजा लेत्सिए तेस्रोसमक्ष बिहीबार राजधानी मासेरुस्थित राजप्रासादमा एक कार्यक्रमबीच आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
सो अवसरमा राजदूत राईले राष्ट्रपति विद्यादेवी भण्डारीले राजाको सुस्वास्थ्य तथा त्यहाँका जनताको शान्ति र प्रगतिका लागि दिनुभएको बधाई तथा शुभकामना तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट शुभकामना दिनुभएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले जनाएको छ ।
राजा लेत्सिए तेस्रोले पनि राष्ट्रपति भण्डारीलाई शुभकामना दिनुका साथै नेपाली जनताको प्रगतिको कामना गर्नुभएको थियो ।
सो समारोहपश्चात् राजदूत राईलाई राजासँगको छोटो भेटघाटका लागि पनि बोलाइएको थियो । राजदूत राईले नेपालमा भएको राजनीतिक परिवर्तन र संविधान निर्माणबारे जानकारी दिनुभएको थियो ।
राईले त्यहाँका परराष्ट्रमन्त्री डा माम्फेनी खाकेत्ला र मन्त्रालयका मुख्य सचिव सोकोलो मैनालाई भेटी आगामी संयुक्त राष्ट्र्रसंघीय मानवअधिकार परिषद्को चुनावमा नेपाललाई सघाउन आग्रह गर्नुभएकोमा उहाँहरुले सकारात्मक रुपमा लिनुभएको दूतावासले जनाएको छ ।
राजदूत राईले उपप्रधानमन्त्री मेत्सिङसंग पनि भेटबार्ता गर्नुभएको थियो ।