प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तराई मधेस लक्षित मेची महाकाली अभियानको पूर्वसन्ध्यामा सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेका कार्यकर्ताबीच द्वन्द्व बढेको छ ।
मोची महाकाली अभियानअन्तर्गत फागुन २३ गते सदरमुकाम राजविराजमा अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने एमालेको अडान र मधेस आन्दोलनका बेला मधेसविरोधी अभिव्यक्ति दिएको आरोप लगाउँदै ओलीलाई कुनै पनि हालतमा राजविराज आउन नदिने मधेसी मोर्चाको चेतावनीका कारण दुईपक्ष आमने सामने भएका हुन् ।
मोर्चा र एमालेका कार्यकर्ताबीचको बाकयुद्ध अब कालोमोसो दल्ने, गालीगलौज गर्नेसम्म पुगेको छ । सोही क्रममा पार्टीको मेची महाकाली अभियानको प्रचारात्मक कार्यक्रमअन्तर्गत राजविराजको हटियामा रहेका एमाले सप्तरीका सदस्य एवं पूर्वजिविस सदस्य प्रतापनारायण चौधरीलाई शुक्रबार बिहान मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका छन् । मोर्चा सम्बद्ध युवा विद्यार्थीहरुले बिहान राजविराजको माछा हटिया नजिक एमाले जिल्ला सदस्य चौधरीको अनुहारमा कालो लगाएका थिए ।
गृहमन्त्री विमलेन्द्र निधीले सिराहामा एमालेलाई लखेट्न मधेशी मोर्चाका कार्यकर्तालाई केही दिन अघि उक्साएका थिए । त्यस लगत्तै एमालेले शुरु गरेको मेचीकाली अभियाना मधेशी मोर्चाले अवरोध शुरु गरेको छ ।
एमाले जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले मोर्चाका कार्यकर्ताले आफ्ना जिल्ला सदस्यलाई कालोमोसो दलेको पुष्टि गरे । उनले भने,‘लोकतन्त्रमा प्रजातान्धिक तरिकाबाट सबै दल र समुदायले आ(आफना विचार लिएर जनतामा जान पाउनुपर्छ, हामी मेची(महाकाली अभियानमा छौं तर हामीलाई कार्यक्रमै गर्न नदिने मधेसी मोर्चाका नेता कार्यकर्ताको रबैया अराजकताको पराकाष्ठा हो ।’ ‘हाम्रा कार्यकर्तालाई कालोमोसो दल्ने, कार्यक्रम गर्न रोक्ने लगायतका अराजक ब्यवहार गरियो भने प्रतिरोध गर्छौं’ एमाले अध्यक्ष न्यौपानेले भने, ‘हामी नपुंशक होइनौं ।’ उनले अहिले मधेसी मोर्चाका कार्यकर्ताहरू राजतन्त्रभन्दा पनि बढी तानाशाही बन्न खोजेको आरोप लगाए ।