पूर्वाधार विकासमा वातावरणीय सन्तुलन आवश्यक

0 Shares

पोखरा, २४ फागुन । जनसङ्ख्या तथा वातावरण मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित वातावरणीय प्रभाव मूल्याङ्कन विषयक सचेतना गोष्ठीमा पूर्वाधार विकासमा वातावरणीय सन्तुलनलाई ध्यान दिइनुपर्नेमा जोड दिइएको छ ।

भविष्यको सन्ततिको आवश्यकता पूरा गर्ने प्राकृतिक स्रोतसाधनको क्षमतामा कुनै किसिमको सम्झौता नगरी वर्तमानको आवश्यकतालाई पूरा गर्ने विकास जरुरी भएकोमा जोड दिँदै वक्ताले प्राकृतिक सम्पदा, निर्मित पूर्वाधार, प्रविधि, सामाजिक तथा सांस्कृतिक अवस्थाबीचको अन्तरसम्बन्ध आवश्यक भएको बताए ।

गोष्ठीमा वातावरणीय परामर्शदाता निरञ्जन श्रेष्ठले पूर्वाधार विकासका क्रममा कसरी वातावरणीय समस्या निम्तिन सक्छन् वा वातावरणीय ह्रास आउन सक्छ भन्ने कुरालाई ध्यान दिइनुपर्ने बताउनुभयो ।

पूर्वाधार विकासमा वातावरणीय पक्षलाई विचार नपु¥याइनुका साथै योजना तर्जुमा र डिजाइनमा वातावरणमैत्री उपाय अवलम्बन नगरिनुले वातावरणीय सन्तुलन कायम हुन नसकेकोमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव नारायणराज तिमल्सिनाले विकास निर्माणको काम अघि बढाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका पर्यावरणविद् (इकोलोजोस्ट) सुरेन्द्रराज पन्तले वातावरण संरक्षण ऐन २०५३ मा पूर्वाधार निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा नागरिक समाजका किसन गुरुङ, कपिल गुरुङ, पत्रकार प्रकाश ढकाललगायतले विकास निर्माणका क्रममा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार