काठमाडौँ, २४ फागुन । नेकपा (संयुक्त) ले सप्तरीमा सोमबार आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गरेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख केदारचन्द्र शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा सोही घटनामा घाइते भएका करिब दुई दर्जनको निःशुल्क उपचार र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ ।
विज्ञप्तिमा घटनाको मूल कारण पहिल्याउने तथा स्वतन्त्र र निष्पक्ष छानबिनको प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्दै लोकतन्त्रमा कुनै पनि दलले शान्तिपूर्ण सभा सम्मेलन गर्ने अधिकारलाई अवरोध गर्ने कार्य राजनीतिक चरित्रको हुन नसक्ने उल्लेख गरिएको छ ।
नेकपा (एमाले)द्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा राजविराजस्थित औद्योगिक क्षेत्रमा सोमबार आयोजित सभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप हुँदा सो घटना घटेको थियो ।