नवलपरासी, ३० फागुन । नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन् ।
नेपाल सरकारको सिँचाइ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरिएको केन्द्र स्थापना भएसँगै आफ्नै गाउँठाउँमा उन्नत बीउ उत्पाउन हुने र भण्डारण हुन थालेपछि किसान हर्षित भएका हुन् ।
सो केन्द्रमा दिव्यपुरीमा रहेका लालीमा कृषि सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारी, महिला बहुउद्देश्य र कञ्चन कृषि सहकारीको डेढ करोड र नेपाल सरकारको रु तीन करोड लगानीमा रहेको छ ।
बालमैत्री नगर बनाउने अभियान
नवलपरासीको बाँकी छवटै नगरपालिकालाई बालमैत्री नगर बनाउन अभियान तीव्ररुपमा अघि बढाइएको छ ।
यसअगावै नवलपरासीको सुनवल नगरपालिकालाई देशकै पहिलो बालमैत्री नगर घोषणा गरिसकिएको थियो । अब जिल्लाको रामग्राम र कावासोती, बर्दघाट, देवचुली, गैँडाकोट र मध्यविन्दु नगरपालिकालाई बालमैत्री नगर बनाउन विभिन्न गतिविधिमार्फत अभियानलाई तीव्ररुपमा अघि बढाइएको हो ।
अहिले ती नगरपालिका क्षेत्रमा बाल श्रम उन्मूलन, कुपोषणबाट शिशुलाई बचाउनलगायत बालमैत्री बनाउन आवश्यक सूचक पूरा गर्न काममार्फत अभियान चलाएको रामग्राम नगरपालिकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।
नवलपरासीमा साविक रामग्राम, सुनबल, बर्दघाट, मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट गरी सात नगरपालिकाका र ५९ गाविस रहेका छन् । यद्यपि अहिले राज्य पुनःसंरचनाअन्तर्गत नवलपरासीमा सात नगरपालिका र आठ वटा गाउँपालिका भएका छन् ।