चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग

0 Shares

रत्ननगर (चितवन), ४ चैत । चितवनको रत्ननगरमा रहेका चेपाङ बालबालिकाका लागि यहाँका एकजना व्यवसायीले रु चार लाखभन्दा बढीको खाद्यान्न सहयोग गरेका छन् ।

रत्ननगरको मङ्गलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित रहेका उनीहरुलाई यसरी सहयोग गरिएको हो । नारायणगढमा रहेको नारायाणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले चामल, दाल, तरकारी, तेल, बेसार, मसला, साबुन, सर्फ लगायतका सामग्री सहयोग गर्नुभएको केन्द्रले जनाएको छ । केन्द्रमा आश्रय लिएर बसेका बालबालिका अहिले नजिकैको स्कुलमा पढिरहेका छन् ।

चुके परिवारले विगत एक वर्षदेखि केन्द्र आश्रित चेपाङ बालबालिकालाई नियमितरुपमा खाद्यान्न सहयोग गर्दै आएको छ । चुके परिवारले केन्द्र स्थापनादेखि विभिन्न सहयोग गर्दै आएको भए पनि विगत एक वर्षदेखि नियमितरुपमा सहयोग गर्न सुरु गर्नुभएको र हाल पुन रु चार लाखभन्दा बढीको सहयोग आएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले जानकारी दिनुभयो ।

केन्द्रलाई आवश्यक पर्ने सामग्री सहयोग गर्न आफू हरपल तयार रहेको चुकेले बताउनुभयो । अति सीमान्तकृत चेपाङ बालबालिकालाई शिक्षा प्रदान गर्न विभिन्न गाउँबाट ल्याएर यहाँ राखिएको छ । यो केन्द्रमा हाल एकसयभन्दा बढी चेपाङ बालबालिका आश्रय लिएर नजिकैको स्कुलमा पढ्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार