सोल, ४ चैत । दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना नौ ओटा कुकुर छाडनुभएको छ ।
गत आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सर्नुभएकी पार्कले चार वर्ष अगाडि आफ्नो साथिले उपहार स्वरुप दिएको कुकुर राष्ट्रपति कार्यालय मै छाड्नुभएको हो ।
स्थानीय एक समाचारपत्रले शुक्रबार लेखेअनुसार उहाँलाई राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेलामा उहाँको छिमेकीले उपहार स्वरुप सन् २०१३ को फेबु्रअरी २५ मा दुई ओटा शिकारी कुकुर दिएका थिए ।
सोलको दक्षिणी जिल्लामा रहेको पार्कको निजी निवासका छिमेकीले उहाँलाई कुकुर उपहार दिएका हुन् ।
पार्कको राजनीतिक आधार क्षेत्र मानिने दक्षिणपूर्वी ग्येङसानङ प्रदेशबाट ती कुकुर ल्याइएका थिए । ती कुकुर विशुद्ध उपहार मात्रै नभई पार्ककै आग्रहमा ल्याइएको थियो ।
उपहार दिनेले उहाँलाई दुई ओटा मात्रै कुकुर दिएकोमा सात ओटा केहीदिन अघि मात्रै राष्ट्रपति कार्यालयमै जन्मिएका थिए । तिनीहरु सबैलाई पार्कले राष्ट्रपति कार्यालयको पछिल्लो भागमा छाड्नुभएको छ ।
संवैधानिक अदालतले महाअभियोगको फैसला गरेको दुइदिनमा उहाँले राष्ट्रपति कार्यालय खाली गर्नुभएको थियो । उहाँ महाअभियोग लगाएर अपदस्त हुने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुनुहुन्छ ।
जनावर अधिकारवादीको एउटा समुहले पार्कले कुकुरलाई त्यहाँ छाडेर कुकुरप्रति हिंसा जनावरको रक्षाको कानूनलाई उलङ्घन गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा उहाँको चर्को आलोचना भएको छ । उहाँबाट कानुनको उलङघन भएको छ की छैन भन्ने कुराको स्पष्ट भइसकेको छैन । रासस/सिन्ह्वा