काठमाडौँ, ४ चैत । श्रम क्षेत्रका समस्या समाधानका लागि श्रम आयोग गठन गर्नुपर्ने माग गरिएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) कर्मचारी सङ्घको चौँथो राष्ट्रिय महाधिवेशनको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले श्रमको समस्या समाधानका लागि श्रम आयोग गठन गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेस पार्टीले स्थापनाकालदेखि नै श्रमिकको हक र हितका लागि काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेसको जन्म नै मजदुर आन्दोलनको जगमा भएको हो ।”
उहाँले संसदमा दर्ता भएको संविधान संशोधनसम्बन्धी विद्येयक पास वा फेल जे भए पनि काँग्रेसले स्वीकार्ने स्पष्ट पार्नुभयो ।
नेपाल ट्रेड युनियनका नेता एवम् सांसद पुष्कर आचार्यले मजदुर आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै मजदुरका समस्यालाई राज्यले वेवास्था गर्न नहुने बताउनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक डा महेश भट्टराईले मेलम्ची काठमाडौँ उपत्यकामा भित्रिदै गर्दा दिगो व्यवस्थापन र पानी वितरणलाई सहजता दिनु ठूलो चुनौती रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष रामजी कुँवरले ट्रेड युनियनको आन्दोलनका कारण मुलुकमा ठूलो परिवर्तन आएको भन्दै ट्रेड युनियनका हक अधिकारका लागि राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो ।
कर्मचारी सङ्घका अध्यक्ष तेजेन्द्रजङ्ग कार्की, ट्रेड युनियनका नेता एवम् पूर्व सांसद अच्युत पाण्डे, नेपाल ट्रेड युनियन काँग्रेसका महासचिव महेन्द्र यादव, नेपाल शिक्षक सङ्घका पूर्व अध्यक्ष मोहन ज्ञवालीलगायतले काठमाडौँ क्षेत्रको खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयुकेएलले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
केयुकेएलभित्र हाल एक हजारभन्दा बढी श्रमिक आबद्ध छन् ।