काठमाडौँ, ४ चैत । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
मन्त्रालयले आज ४८१ अधिकृतलाई गाउँपालिका प्रमुखका रुपमा काम गर्ने गरी खटाउने निर्णय गरेको हो । गत फागुन २७ गते स्थानीय तह कार्यान्वयनमा आएपछि निमित्त अधिकृतले काम गर्दै आएका थिए । निमित्तलाई आर्थिक निर्णय गर्ने अधिकार छैन । मन्त्रालयको निर्णयलाई आधार मानी आजैदेखि तोकिएको गाउँपालिकामा गएर काम गर्न अधिकृतहरुलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले राससलाई जानकारी दिनुभयो । “स्थानीय तहको निर्वाचन तोकिएकाले त्यसको तयारीका लागि अविलम्ब कार्यालयमा हाजिर भई काम गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिइएको छ, नजानेलाई निर्वाचन आचारसंहिता अनुरुप कारबाही हुन्छ”, उहाँले भन्नुभयो ।
नवगठित नगरपालिकामा आगामी शुक्रबारसम्म कार्यकारी अधिकृत तोकिने मन्त्रालयले जनाएको छ । यसअघिदेखि नै कायम रहेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा पुरानै कार्यकारी अधिकृतले काम गर्नेछन् । अर्थ मन्त्रालयले बुधबार सात सय ४४ वटै स्थानीय तहलाई कार्यालय स्थापनाका लागि रु एक÷एक करोड विनियोजन गरिसकेको छ । बजेटमध्ये रु ८० लाख पुँजीगत खर्च र रु २० लाख चालु खर्च गर्न सकिने मन्त्रालयले जनाएको छ । रासस