बर्लिन, ५ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मनीकी चान्सलर एंगेला मर्केलबीच शुक्रबार वासिङटनमा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको छ ।
भेटबार्तापछि भएको पत्रकार सम्मेलनमा उहाँहरुको भेटबार्ता सौहार्दपूर्ण नभएको देखिएको थियो ।
पत्रकारहरुका अगाडी उभिएपछि स्वभाविक रुपले दुवै जनाले हात मिलाउनु पर्नेमा पत्रकारहरुले आग्रह गर्दा पनि उहाँहरुले एक आपसमा हात मिलाउन सक्नु भएन ।
पत्रकारहरुको आग्रहपछि ट्रम्पसँग हात मिलाउनका लागि मर्केलले ट्रम्प तर्फ हात दिएको भएपनि ट्रम्पले अस्विकार गरेपछि उहाँहरु हात मिलाउन असफल हनु भएको हो ।
आप्रवासी र रुसलाई हेर्ने दृष्टीकोणमा उहाँहरुको ठिक उल्टो धारणा रहेको छ । त्यो फरकपनको झल्को पत्रकार सम्मेलनमा पनि स्पष्टसँग देखिएको थियो ।
भेटवार्ताका क्रममा ट्रम्पले अमेरिकालाई फाइदा हुने व्यापार सम्झौता, आप्रवासनमा कडाइ, सैनिक शक्ति वृद्धि लगायतका विषयमा कुरा उठाउनु भयो ।
मर्केलले भने विश्वव्यापीकरणका फाइदा, आप्रवासीहरुप्रति खुलापन जस्ता पक्षमा जोड दिनुभएको थियो ।
पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पुर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले आफू विरुद्ध निर्वाचनको समयमा सरकारी संयन्त्रबाट नै जासुसी गर्न लगाएको आरोप फेरी लगाउनु भएको थियो । उहाँले यो आरोप यसअघि पनि लगाउनु भएको थियो । तर ओवामाको पक्षबाट सो आरोपको यसअघि नै खण्डनपनि भईसकेको थियो । रासस/एएफपी/सिन्ह्वा