काठमाडौँ, ६ चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकको प्रतिष्ठासँग जोडिएको नेपाल टेलिकमको सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्ने खाँचो आँैल्याउनुभएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठन टेलिकमको एकता घोषणा सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले टेलिकमको क्षमता विस्तार गरी विकासमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
“टेलिकम नेपालको गौरव गर्ने ठूलो संस्था हो, यसलाई थप सुदृढ गरी पैसा कमाउने ‘सिस्टर अर्गनाइजेसन’ खोलेर ‘फ्रिज’ भएको रकम सदुपयोग गर्न जरुरी छ, अहिले यो प्रतिस्पर्धीविहीन छ, अन्य कम्पनी आउँदैछन्, उनीहरु भन्दा अब्बल बनाउन सबैखाले आधार तयार गर्नुपर्छ”– सञ्चारमन्त्री कार्कीले भन्नुभयो ।
टेलिकमले अन्तर्राष्ट्रिय उडान भर्ने विमान र ठूला प्राविधिक विश्वविद्यालयमा लगानी गर्ने क्षमता विस्तार गर्न जरुरी भएको पनि उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री कार्कीले कर्मचारी सङ्गठनको एकतालाई संस्था सबलीकरण र सुदृढीकरणमा जोड्न सके संस्था तथा मजदुर कर्मचारीको हित हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले टेलिकमको सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी लागिपरेको बताउनुभयो ।
कार्यक्रममा सङ्गठनका निवर्तमान अध्यक्ष बाबुजी पण्डितले दुई सङ्गठन एकीकरण केवल सङ्गठनको मात्र नभई संस्थाको हित र सुदृढीकरणमा केन्द्रित हुने बताउनुभयो ।
नेकमा (माओवादी केन्द्र) र नेकपा (क्रान्तिकारी) माओवादी निकट कर्मचारी सङ्गठनबीचको एकतापछि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) नामकरण गरिएको छ ।
यज्ञ बजगार्इं संयोजक र बाबुजी पण्डित सहसंयोजक रहेको २१ सदस्यीय तदर्थ समिति गठन गरी आगामी वैशाख ७ देखि ९ गतेसम्म सङ्गठनको अधिवेशन गरिने भएको छ ।