बेरुत, ७ चैत । पूर्वी दमासकसमा सोमबार विद्रोहीहरुको अखाडालाई लक्षित भारी हवाई आक्रमण भएको एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ । विद्रोहीले गोप्य सुरुङ्ग र आत्मघाती आक्रमण गरेपछि सिरियाली सरकारीबलले सो हवाई आक्रमण गरेको बताइएको छ ।
पूर्वी दमासकसमा अवस्थित जोबारमा विद्रोहीको आखाडालक्षित भीषण हवाई आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले जानकारी दिएका छन् ।
अल कायदा आतङ्ककारी समूहसँग सम्बन्धित फतेह अल साम फन्टले आइतबार जोबारस्थित सरकारी क्षेत्रहरुलाई लक्ष्य गरी आक्रमण गरेका थिए ।
सोमबार भएको हवाई आक्रमणमा परी के कति व्यक्तिले ज्यान गुमाए सो भने प्रष्ट नभएको रहमानले जानकारी दिएका छन् ।
त्यसैगरी सोमबार भएको हवाई आक्रमण सिरियन सरकारको युद्धक विमान हो या र रसियाली सो पनि प्रष्ट नभएको उनले जानकारी दिएका छन् ।
सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो ।
सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट (आइएस)को प्रभाव बढदै गयो । सिरियामा जारी यस युद्धमा परी सन् २०११ बाट हालसम्म तीन लाख १० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
त्यसैगरी लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखाँै आफ्नो घर छोडी आफ्नै देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन् । रासस/एएफपी