काठमाडौँ, ७ चैत । गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक, २०७३ लाई परिमार्जनसहित सदनको बहुमतले पारित गरेको छ ।
उपप्रधान मन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शङ्कर नायकले उक्त प्रस्तावलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसअघि बैठकमा सभामुख ओनसरी घर्तीले सो विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा बहुमतले ती संशोधनलाई अस्वीकार गरेको थियो । उक्त विधेयकमाथि १० वटा संशोधन परेको थियो ।
बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि संशोधनकर्ता राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटी, कृष्णभक्त पोखरेल, रामनारायण विडारी, रेवतीरमण भण्डारी, रामचन्द्र पोखरेल, दीपक कुईंकेल लगायतले संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।
उहाँहरुले जनताले निर्वाचन र वडाबाट प्राप्त सेवा सुगम ढङ्गबाट होस् भन्ने चाहेकोजस्ता विषय समेटेर प्रस्तुत गर्नुभएको संशोधनमा मन्त्री नायकले सहमति जनाउनुभएको थियो ।
तर नेमकिपाका सांसदहरुले भने आफ्नो प्रस्ताव फिर्ता नलिनु भएको हँुदा निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतले अस्वीकार गरेको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही चैत ८ गते दिनको १ बजे बस्नेछ ।