पत्रकार उप्रेतीलाई विद्यावारिधि

7 Shares

 

काठमाडौँ, ९ चैत । पत्रकार टङ्क उप्रेतीले त्रिविबाट पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ ।

‘मिडिया एन्ड इथ्निसिटी ः रिप्रेजेन्टेसन अफ माइनोरिटिज इन नेपाली टेलिभिजन न्युज’(मिडिया जातीयताः नेपाली टेलिभिजन समाचारमा अल्पसङ्ख्यकको प्रतिनिधित्व) शीर्षक उहाँले गर्नुभएको अनुसन्धानका लागि उपाधि प्रदान गरिएकोे हो ।

सन् २०११(२०६७ । ०६८)को विषयवस्तुलाई लिएर गरिएको अध्ययनले नेपाली टेलिभिजनको विषयवस्तु र जनशक्तिमा अधिकांशको आदिवासी जनजातिको प्रतिनिधित्व नभएको तथा गलत चित्रणसहित प्रस्तुति गर्ने गरिएको पाएको छ । उनन्साठी सूचीकृत जनजातिमध्ये टेलिभिजनमा १५ जातिका मात्र जनशक्ति र अन्तर्वस्तुमा नौ जातिको मात्र प्रतिनिधित्व रहेको पाइएको छ । पन्ध्रमध्ये आर्थिक रुपमा सबल, शिक्षित र सहरमा पहुँच भएका तथा राजनीतिक शक्तिमा पहुँच भएका जातिको प्रतिनिधित्व पाइएको जानकारी उप्रेतीले दिनुभयो ।

‘नेपाल टेलिभिजन’मा कार्यरत उप्रेतीले यसअघि लन्डनबाट आमसञ्चार र त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको थियो । उप्रेतीका कविता र निबन्ध सङ्ग्रह, सञ्चार अनुसन्धानबारेका पुस्तक पनि प्रकाशित छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार