म्याग्दी, ११ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा ७२ वटा मतदानस्थल तोकिएको छ । जिल्ला मतदान केन्द्र सिफारिस समितिले एक नगरपालिका र पाँच गाउँपालिकामा निर्वाचन गराउन ती मतदानस्थल निर्धारण गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले मतदानस्थल ७२ वटा रहेपनि मतदाता सङ्ख्याका आधारमा मतदान केन्द्र निर्धारण गरिने जानकारी दिनुभयो । नगरपालिका र गाउँपालिकामा पायक पर्ने स्थानमा मतदानस्थल तोकिएको र मतदाताको सङ्ख्याका आधारमा एक हजारभन्दा बढी मतदाता भएमा एउटै मतदानस्थलमा पनि एकभन्दा बढी मतदान केन्द्र तोकिने उहाँले बताउनुभयो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याग्दीको बेनी नगरपालिकामा सबैभन्दा धेरै १७ वटा मतदानस्थल तोकिएको छ । त्यसैगरी, रघुगङ्गा गाउँपालिकामा १४, धौलागिरि गाउँपालिकामा १२, मालिका गाउँपालिकामा नौ, मङ्गला गाउँपालिकामा सात र अन्नपूर्ण गाउँपालिकामा १३ मतदानस्थल तोकिएको छ ।
विसं २०७० को निर्वाचनमा ६८ वटा मतदानस्थल भएपनि यस वर्ष स्थानीय तह पुनर्संरचनाअनुसार पुनरावलोकन गर्दा चारवटा बढी निर्धारण गरिएको हो । म्याग्दीमा आगामी वैशाखमा हुने निर्वाचनमा करिब ७२ हजार मतदाताले सहभागिता जनाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार जिल्लाबाट ७१ हजार नौसय १२ जना मतदाताको नामावली अध्यावधिक गरी निर्वाचन आयोगमा पठाइएको छ । स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा १२ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलमा चहलपहल सुरु भएको छ । राजनीतिक दल चुनावी प्रचारप्रसारमा लागेका छन् भने निर्वाचन कार्यालयले पनि आवश्यक तयारी भइरहेको जानकारी दिएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका र धौलागिरि गाउँपालिकाको केन्द्रको विवादले भने ती दुई गाउँपालिकाको कार्यालयसमेत स्थापना हुन सकेको छैन् । रासस