सोलुखुम्बु, १२ चैत । नगरपालिका भएपछि के के न परिवर्तन होला भनेर सोच्ने नगरवासी यतिबेला नाकमुख थुनेर बस्नुपर्ने स्थिति आएको छ । सदरमुकाम सल्लेरी वसन्तबजार र नयाँबजार क्षेत्र वरपर पछिल्लो समय फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध बढ्दै गएको हो ।
बस्ती वा साप्ताहिक हाटबाट निस्कने फोहर विसर्जनका लागि अव्यवस्थित रुपमा ठाडो खोल्सा प्रयोग गर्ने गरिएको छ । फोहरको सही व्यवस्थापन नगर्दा उत्पन्न हुने समस्यामा ध्यान नदिइकन अव्यवस्थित ढङ्गले खोल्सामा फाल्दा दुर्गन्ध बढ्दै गएको सल्लेरीका ज्ञानप्रसाद राईको भनाइ छ ।
दूधकुण्ड नगरपालिका–६ स्थित साप्ताहिक हाट लाग्ने क्षेत्रको करिब तीन सय मिटर तल रहेको सोलुजन्तरढाप फाप्लु सडकमा पर्ने खोल्सा किनार नजिकै जिल्ला प्राविधिक कार्यालय सोलुखुम्बुका प्रविधिज्ञ प्रेमसिं राई नाक थुनेर हिँड्दै गरेको अवस्थामा भेटिनुभयो र उहाँले भन्नुभयो – “नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदाको परिणाम आज हामी यो सडकमा हिँड्दा पनि नाक मुख थुनेर हिँड्नुपर्ने भएको छ ।”
नेचा सल्यान गाउँपालिकाका सिंहबहादुर बस्नेतले भन्नुभयो – “फोहर व्यवस्थापनका लागि न त सम्बन्धित निकायले ध्यान दिएको छ न त सम्बन्धित फोहर उत्पादनकर्ताले । यसको मारमा सम्पूर्ण नगरवासीसहित जिल्ला आउने मानिस परेका छौँ” –
सामान्य जलाउन सकिने काजगका टुक्रा, तयारी खानेकुराका कार्टुन, प्लास्टिकसमेत फोहरको डुङ्गुरमा देखिन्छ । न त यसलाई जलाउने गरिन्छ न त खाल्डोमा पुर्ने । देउसा सोलुखुम्बुका मिलन थुलुङले फोहर हेर्दै भन्नुभयो – “खै नगरपालिका रे ! हाम्रो गाउँघरको जति पनि सरसफाइमा ध्यान दिइएको देखिँदैन । यहाँ जिल्लाका ठूल्ठूला नेता अनि कार्यालय प्रमुख पनि बस्छन् । यो देख्दा मलाई पो लाज लागेर आउँछ ।”
तत्कालीन सोलुखुम्बुका प्रजिअ झङ्कनाथ ढकालको पालामा साप्ताहिक सल्लेरी सरसफाइ अभियान सञ्चालन हुँदा बजार क्षेत्रको मुहार फेरिएको थियो । प्रजिअको नेतृत्वमा सरसफाइ अभियान सञ्चालन भइरहँदा कतिपय जिल्लास्तरीय नेताले समेत खोलाको फोहर टिप्ने र टिपाउने सिडिओ सा’ब भनेर चिया गफ गर्थे । तत्कालीन प्रजिअको सरुवा भएपछि सरसफाइ अभियान पनि स्थगित भयो अनि अव्यवस्थित फोहरको मात्रा बढ्दै गयो ।
“पर्यटकीय हिसाबले महत्व बोकेको जिल्ला सदरमुकाममै फोहरको व्यवस्थापन गर्न नसक्दाको सन्देश खासै राम्रो जाने कुरै भएन, त्यसैले सरसफाइमा सबै पक्षले ध्यान दिन आवश्यक छ,” सोताङका गोपाल बस्नेत भन्नुहुन्छ । सल्लेरी क्षेत्रमा फोहरसँंगै ढलको समेत राम्रोसँग व्यवस्थापन गर्न सकिएको छैन ।
यता सोलु दूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत गुणराज भट्टराईले सरसफाइमा स्थानीय आफैँ सचेत हुनुपर्ने र चाँडै सरसफाइलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउने बताउनुहुन्छ ।
सदरमुकाम सरसफाइमा समयमा नै ध्यान नदिने हो भने बढ्दो सहरीकरण र फोहरबाट उत्पन्न सङ्क्रमणका कारण विभिन्न स्वास्थ्य समस्या नआउला भन्न सकिन्न । रासस