रुट परमिटबिना सवारी सञ्चालनमा

0 Shares

बैतडी, १९ भदौ । बैतडीका सबै कच्ची सडकमा रुट परमिटबिना नै सवारीसाधन सञ्चालनमा रहेको पाइएको छ । विशेष गरेर ती सडकमा साना सवारीसाधन जिप सञ्चालनमा रहेका हुन् ।

जिल्लाका देहीमाडौँ–गिरेगडा, पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट, विप्यकटाल–ढुङ्गाड, सिल्लेगडा–कटौजपानी सडकमा बिनारुट परमिट सवारीसाधन सञ्चालनमा रहेका हुन् । रुट परमिटबिना सडकमा सवारीसाधन सञ्चालनमा रहेकाले ती सडकमा अस्थायी रुट परमिट दिने तयारी थालेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कच्ची सडकमा सवारीसाधन सञ्चालनमा आएकाले त्यसलाई एक्कासि रोक्दा नागरिकलाई सास्ती हुने भएकाले अस्थायी रुट परमिट दिनका लागि तयारी थालिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए । प्रजिअ अध्यक्ष रहेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बोलाएर यो विषयमा चाँडै निर्णय लिइने उनले बताए ।

रुट परमिटका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको भए पनि बैतडीका कच्ची सडकले रुट परमिट प्राप्त गरेका छैनन् । जिल्ला यातायात व्यवस्थापन समितिको बैठक बोलाएर प्राविधिक समितिको अध्ययनपश्चात् अस्थायी रुट परमिट प्रदान गरिने प्रजिअ चौधरीले बताए ।
कच्ची सडकमा गाडी चलिरहेको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले यातायात क्षेत्रलाई चुस्तदुरुस्त बनाउने बताए । अहिले जिल्लाभरि ट्राफिक नियम पालनाका लागि सबैलाई आग्रह गरिएको राणाले उल्लेख गरे । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार