बुलेट न्युजको प्रकाशन प्रारम्भ

7 Shares

पर्वत, २१ साउन । विकास र समृद्धिको नारासहित पर्वत सदरमुकाम कुश्माबजारबाट नयाँ साप्ताहिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ ।

पत्रकार राजबाबु पिसी अध्यक्ष र सार्जन पौडेल सम्पादक रहेको बुलेट न्युज साप्ताहिकले सोमबारदेखि प्रकाशन आरम्भ गरेको हो । पत्रिकाको नेपाल प्रेस सोसाइटीका केन्द्रीय अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पश्चिमाञ्चल क्षेत्रीय सह–संयोजक रुद्रप्रसाद भट्टले एक समारोहबीच विमोचन गरेका थिए ।

सो अवसरमा भट्टले पत्रिका प्रकाशन सुरु गर्नु मात्र ठूलो कुरा नभई यसलाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए । भट्टले अबको पत्रकारिता राजनीतिक र नेतामुखी नभई विकास र समृद्धिका लागि हुनुपर्नेमा जोड दिए । उनले पत्रिका र पत्रकारले सधैँ राजनीतिलाई ठूलो मानेर सहयोग गर्नुपर्ने तर राजनीतिक दलले आमसञ्चार माध्यमलाई बेवास्ता गर्ने गरेकाले अब कुनै व्यक्ति र पार्टी विशेषको पत्रकारिता गर्नु उचित नहुने बताए ।

बुलेट न्युज साप्ताहिकसँगै पर्वतमा पत्रिकाको सङ्ख्या १६ पुगेको छ । यसअघि आठवटा साप्ताहिक नियमित प्रकाशनमा रहेका छन् भने तीनवटा दैनिक पत्रिका र तीनवटा पाक्षिक पत्रिका प्रकाशन हुँदै आएका छन् । यस्तै, तीनवटा सामुदायिक रेडियो तथा एक केबुल टेलिभिजन प्रसारण हुँदै आएका छन् । पर्वतमा अर्को एउटा नयाँ रेडियो र साप्ताहिक पत्रिका पनि प्रकाशनमा रहेका छन् ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य महेन्द्रजङ्ग लामिछानेले अबको पत्रकारिता व्यावसायिक हुनुपर्ने बताउँदै निष्पक्ष र तटस्थ भए मात्र जुनसुकै पत्रिकाले पनि निरन्तरता र दिगो हुने विचार व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्माले पर्वतजस्तो साँघुरो बजारमा सञ्चारमाध्यम खुल्नेक्रम तीव्र्रगतिमा बढेको बताउँदै सबै सञ्चारमाध्यम एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार