गोरखा, २१ भदौ । शिक्षक सेवा आयोगको परीक्षा दिन भन्दै गाउँबाट हिँडेका शिक्षकहरु अहिलेसम्म नफर्केपछि उत्तरी गोरखाको कासीगाउँ गाविसको मञ्जुश्री मावि अभिभावकले बन्द गरेका छन् ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष लुमप्रसाद गुरुङ नेतृत्वको समूहले गत आइतबार विद्यालयमा ताला लगाएपछि विद्यालय बन्द छ । यही भदौ ७ गते आयोगको परीक्षा दिन भन्दै विद्यालय बन्द गरी शिक्षक सदरमुकाम झरेका थिए । भदौ १५ गतेदेखि विद्यालय खुलाउने भनिए पनि १२ जनामध्ये छ शिक्षक विद्यालयमा अनुपस्थित रहेपछि अभिभावकले विद्यालयमा ताला लगाएको बताएका छन् ।
“बाटो हेर्दाहेर्दै शिक्षक आएनन् । आज आउलान् भन्यो आउँदैनन्, भोलि आउँछन् कि भन्यो आएनन्” उनले भने “गाउँलेहरु एक मत भएर विद्यालयमा ताला लगाएका हौँ ।” जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई सम्पर्कमा ल्याई विद्यालयमा पठाएपछि ताला खोल्ने उनीहरुको भनाइ छ ।
अभिभावकले विद्यालयमा ताला लगाएपछि मान्वुस्थित प्रहरी चौकीका प्रहरी कासीगाउँ पुगेका छन् । प्रअ राजकुमार श्रेष्ठ पनि विद्यालयको सम्पर्कमा नभएको भन्दै स्थानीयवासी आसबहादुर घलेले १५ दिनदेखि विद्यालयमा भद्रगोल हुँदै आएको बताए । “विद्यार्थी स्कुल गएर खेलेर फर्किन्छन्” उनले भने ।
विद्यालयका शिक्षक धनकुमार घलेले प्रक्रिया मिचेर आफ्नी श्रीमतीलाई विद्यालयमा नियुक्ति गरेपछि विवाद भएको स्थानीयवासी मानबहादुर गुरुङले बताए । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले विद्यालय नगएका शिक्षकलाई स्पष्टीकरण सोधिने बताए । “परीक्षा दिन जाने भन्दै विद्यालय बन्द गर्न पाइँदैन” जिशिअ सुवेदीले भने । रासस