काठमाडौँ, २२ भदौ । नेकपा माओवादीले वर्ग सङ्घर्षबाट मात्र सहिदले कल्पना गरेको सपना साकार हुने भएकाले आफूहरुले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको जनाएको छ ।
दशवर्षे जनयुद्धका सहिद शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा नेकपा माओवादी सिन्धुलीले राजधानीको संवाद डबलीमा मंगलबार आयोजित कार्यक्रममा माओवादी नेताहरुले सहिद विशाल र सहिद कुमारले जनयुद्धमा खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनीहरुको रगत खेर नजाने बताए ।
नेकपा माओवादीका स्थायी समिति सदस्य ईश्वरी दाहाल ‘काका’ले ती सहिदको सपना अझै अधुरो रहेको बताउँदै एकीकृत जनक्रान्तिमार्फत उनीहरुको सपना पूरा गर्ने अठोट व्यक्त गरे ।
त्यसैगरी, अर्का स्थायी समिति सदस्य एवम् केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढाले सहिदको सपना साकार पार्न वर्गीय सङ्घर्ष पूरा गर्न आफूहरु एकीकृत जनक्रान्तिको कार्यदिशामा हामफालेको बताए ।

पार्टीका केन्द्रीय सदस्य सन्देश पौडेलले नेपालको जनयुद्ध हाल आएर सुधारवादी, विसर्जनवादी र क्रान्तिकारी धारमा विभाजन भएको बताए । उनले थपे –“बाबुरामजीले बुर्जुवा, प्रचण्डले सुधारवादी, वैद्यले विसर्जन र विप्लवले क्रान्तिकारी धारको नेतृत्व गरिरहेका छन् ।”
“नेपालमा लेनिन र माओको तरिकाले मात्र क्रान्ति सम्पन्न हुँदैन । क्रान्ति सम्पन्न गर्न नेपाली मौलिकताको सिद्धान्त अनिवार्य छ । त्यो भनेको कमरेड विप्लवले अगाडि सारेको एकीकृत जनक्रान्तिको सिद्धान्त नै हो”, पौडेलको भनाइ थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य चिरन पुन, सिन्धुली–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष अर्जुन कटुवाल, छेवाङ तामाङ लगायतले सहिद विशाल तथा कुमारको योगदानमाथि चर्चा गरेका थिए ।
कार्यक्रमका अध्यक्ष एवम् पार्टीका सिन्धुली जिल्ला सेक्रेटरी राजु कार्कीले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत उनीहरुको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय सदस्य विशाल र वैकल्पिक केन्द्रीय सदस्य कुमारको २०६१ साल भदौ २० गते तत्कालीन शाही सेनाले हत्या गरेको थियो । कार्यक्रममा सहिद विशालकी छोरी निशा कँुवरलाई सम्मान गरिएको थियो । रासस