पर्वत, २२ भदौ । विकास निर्माणका काममा अवरोध सिर्जना हुन नदिन धौलागिरि अञ्चलका तीन जिल्लाका सुरक्षा प्रमुखलाई क्षेत्रीय प्रशासक गोपीनाथ मैनालीले निर्देशन दिएका छन् ।
मङ्गलबार पर्वत आएका मैनालीले राष्ट्रिय गौरवका योजनासँग सम्बन्धित विकास निर्माणका काममा कुनै पक्षबाट अवरोध सिर्जना भए तत्काल सुरक्षा निकायले हस्तक्षेप गर्न निर्देशन दिएका हुन् । मुलुक समृद्धिको दिशातर्फ उन्मुख हुनुपर्ने बेलामा सातातिना माग राखेर कुनै पनि योजनामा अवरोध पु¥याउने पक्षलाई तत्काल कारबाही गर्नसमेत उहाँले निर्देशन दिएका छन् ।
धौलागिरि अञ्चलमा करिब एक दर्जन जलविद्युत् आयोजना, कालीगण्डकी लोकमार्ग, मध्यपहाडी राजमार्गलगायत सडक, सिँचाइका थुप्रै योजना निर्माणाधीन अवस्थामा रहेका बेला क्षेत्रीय प्रशासक मैनालीले उक्त निर्देशन दिएका हुन् ।
उनले विकास निर्माणका कार्यलाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न पनि सुरक्षा निकायलाई आग्रह गरेका छन् । धौलागिरि अञ्चलका सुरक्षा प्रमुखलाई निर्देशन दिँदै धौलागिरि अञ्चलका तीन जिल्ला सुरक्षा थ्रेटभित्र नरहेकाले अन्य कुराको व्यवस्थापनमा ध्यान दिन आग्रह पनि गरेका छन् ।
क्षेत्रीय प्रशासक भएर पहिलोपटक पश्चिमाञ्चल क्षेत्रीय प्रशासनमा आएपछि पहिलोपटक उहाँले पर्वतको भ्रमण गरेका हुन् । उनले चाडबाडको समय नजिकिँदै गएकाले बजारमा कुनै पनि वस्तुको अभाव हुन नदिन आपूर्ति व्यवस्था चुस्त–दुरुस्त बनाउन पनि निर्देशन दिएका छन् ।
अन्य समयभन्दा चाडबाडको समयमा नागरिकले उपभोग्य वस्तु बढी खरिद गर्ने भएकाले आपूर्ति व्यवस्था र गुणस्तरीय वस्तु उपलब्ध गराउने वातावरण मिलाउन पनि तीनवटै जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन दिए ।
उनले धौलागिरि अञ्चलका सबै जिल्लामा आपूर्ति व्यवस्थालाई सहज बनाउन र कुनै अप्ठ्यारो आइपरेमा खबर गर्न आग्रहसमेत गरेका थिए । अझै पनि दुरदराजका नागरिकले राज्यबाट प्रवाह भएका सेवासुविधा चुस्त र दुरुस्त ढङ्गले प्राप्त गर्न नसकेको बताउँदै उनले यसतर्फ ध्यान दिन पनि आग्रह गरेका छन् ।
उनले चाडबाडको समयमा बढ्न सक्ने चोरी, डकैती, लुटपाट र आपराधिक क्रियाकलापतर्फ सजग भएर रहन पनि आग्रह गरेका थिए । भेटघाटमा पर्वत, बागलुङ र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धानका प्रमुखले आ–आफ्नो जिल्लाका कार्यालयका समस्या र वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । रासस