म्याग्दी, २२ भदौ । यहाँ एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आएका छन् ।
जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत बस्दै आएका थिए । विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी र हत्या हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको दैनिकीमा लेखेर उनले जानकारी दिए ।
विश्व कल्याणको कामनासहित फलाहार बसेर दैनिक ‘श्रीमद्भागवत’, ‘गीता’, ‘महाभारत’लगायत धार्मिक ग्रन्थको पाठपारायण गर्दै आएका बेनीको मङ्गलाघाटमा भेटिएका रामानन्दले लेखेर जानकारी दिए । “विश्वमै शान्ति कायम नहुन्जेल म अन्न पनि सेवन गर्दिन, मौनव्रत पनि छाड्दिन”, उनले दैनिकीमा लेखे ।
पन्ध्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत स्थानबाट मानिसहरु आफूलाई दैनिकजसो भेट्न आउने गरेको पनि उनले जानकारी गराए । रासस