बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

0 Shares

बैतडी, २३ भदौ । बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । गत सालदेखि नै औषधि आपूर्तिमा समस्या भएपछि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।

सरकारले स्वास्थ्यचौकीबाट ४० प्रकारको औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० प्रकारको औषधि र जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क दिने नीति लिएको भएपनि स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । जिल्लाभरिका स्वास्थ्य संस्थाले सिटामोलसमेत मागअनुसार आपूर्ति हुन नसकेको बताएका छन् ।

पछिल्लो समयमा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको र स्वास्थ्य संस्थामा औषधि नहुँदा उपचारमै समस्या भएको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले जानकारी दिए । उनले भने “स्वास्थ्यचौकीमा टाइफाइडका बिरामी बढेपनि औषधि नहुँदा उपचारमा निकै समस्या भएको छ ।”

जिल्ला स्वास्थ्य कार्यालयबाट माग अनुसारको औषधि आपूर्ति नहुँदा नागरिकलाई सास्ती भएको बताइएको छ । सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पेमा गएको एक महिनायता आइरन चक्कीसमेत सकिएको छ । गर्भवती महिलालाई निःशुल्क रुपमा वितरण गरिने आइरन चक्की स्वास्थ्य संस्थामा कति पनि नभएको स्वास्थ्यचौकीका इन्चार्ज मदन महराले बताए । स्वास्थ्य संस्थामा औषधि नहुँदा निःशुल्क पाइने औषधिसमेत सेवाग्राहीलाई किन्न लगाउनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका डा शशी कँडेलले बताए ।

शर्माली स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश चन्दका अनुसार स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामीलाई औषधि दिन सकिएको छैन । उनले भने, “ग्रामीण क्षेत्रमा नजिक मेडिकलसमेत नहुँदा नागरिक सामान्य औषधिको अभावमा समस्या झेलिरहेका छन् ।” जिल्लाभरि औषधिको अभाव भएको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका आरआरटी फोकलपर्सन सन्तोष पाण्डेयले मागअनुसार औषधि आपूर्ति नभएको स्वीकार गरे ।

उनले भने, “गत सालदेखि नै आपूर्ति व्यवस्थामा समस्या आएकाले मागअनुसार औषधि पूर्ति नभएको हो ।” जिल्ला स्वास्थ्य कार्यालयले टेन्डर आह्वान गरेर औषधि खरिद प्रक्रिया अगाडि बढाएपनि अझै दुई महिनाजति लाग्ने बताइएको छ । औषधिको बढी अभाव भएका स्वास्थ्य संस्थामा जिल्ला स्वास्थ्यको स्टोरबाट केही औषधि पठाउने तयारी भइरहेको पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार