असी प्रतिशत भाइरल ज्वरोका बिरामी

0 Shares

बैतडी, २३ भदौ । बैतडीमा भाइरल ज्वरो तथा टाइफाइडका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो एक महिनायता जिल्लाभरि भाइरल ज्वरो तथा टाइफाइडका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पताल बैतडीका डा निरज आचार्यले जानकारी दिए । “उपचारका लागि जिल्ला अस्पताल आउने बिरामीमध्ये ८० प्रतिशतमा भाइरल ज्वरो तथा टाइफाइडको सङ्क्रमण देखिने गरेको छ”, उनले भने “बेडमा भर्ना भएका बिरामीमध्ये पनि धेरैजसो ज्वरोकै छन् ।”

यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा आउने अधिकांश बिरामीमा भाइरल ज्वरो तथा टाइफाइडको सङ्क्रमण देखापरेको डा शशी कँडेलले बताए । उपचारका लागि आउने धेरै बिरामी ज्वरोकै भएको उनले बताए । जिल्लाका धेरैजसो गाविसमा भाइरल ज्वरोले प्रकोपको रुप लिएको बताइएको छ । श्रीकोट, शङ्करपुर, रौलेश्वर, शिखरपुरलगायत गाविसमा भाइरल ज्वरोबाट बालबालिका बढी प्रभावित भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोकै भएको जानकारी दिए । पुरचौँडी क्षेत्रमा पनि ज्वरोका बिरामी बढेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले जानकारी दिए । स्वास्थ्य चौकीमा आउने बिरामीमध्ये धेरैजसो ज्वरोकै भएको उहाँको पनि भनाइ छ ।

यस्तै, तल्लोस्वोराड क्षेत्रमा पनि ज्वरोका बिरामी बढेको त्यो क्षेत्रका स्वास्थ्य संस्थाले जनाएका छन् । उता च्वाँगढ क्षेत्रमा पनि बालबालिका ज्वरोबाट प्रभावित भएको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनक धामीले जानकारी दिए । मौसममा आएको परिवर्तनले भाइरल ज्वरो देखापरे पनि टाइफाइड भने दूषित पानीका कारण हुने गरेको डा शशी कँडेलले बताए । टाइफाइड भएका बिरामीले एन्टिबायोटिक औषधि खानैपर्ने सुझाव स्वास्थ्यकर्मीले दिएका छन् ।

भाइरल ज्वरो समान्यतया एक हप्तामा आफँै निको हुने भएपनि बिरामीले आराम गर्नुपर्ने र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, पानी उमालेर मात्र पिउने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने डा कँडेलको भनाइ छ । बर्सातको समयमा पानीका मुहान दूषित हुने र दूषित पानीकै सेवनबाट धेरै रोग लाग्ने गरेको उहाँले बताए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार